धनुषाको चित्रपुरमा आँप महोत्सव : बगैँचामै टिप्न र स्वाद लिन पाइने
/ धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो साता आँप महोत्सव हुने भएको छ ।
स्थानीय उत्पादनको प्रवद्र्धन, कृषकको आयआर्जन वृद्धि तथा कृषि पर्यटनको विकास गर्ने उद्देश्य तीनदिने आँप मेला महोत्सव हुन लागेको हो ।
चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा आगामी असार ५ देखि ७ गतेसम्म हुने महोत्सवमा विभिन्न स्थानीय जातका आँप तथा आँपबाट तयार गरिएका परिकार राखिनेछ ।
महोत्सवका अवसरमा आगन्तुक तथा पर्यटकलाई आँप बगैँचा अवलोकन गराउने, विभिन्न जातका आँपबारे जानकारी दिने, रूखबाटै आँप टिप्ने अनुभव दिलाउने तथा आँपबाट बन्ने परिकारबारे जानकारी गराउने कार्यक्रम राखिएको छ ।
साथै इच्छुक आगन्तुकले शुल्क तिरेर बगैँचाबाटै ताजा आँप खरिद गर्न सक्नेछन् । आयोजकका प्रतिनिधि दीपेन्द्र सिंहका अनुसार महोत्सवमार्फत चित्रपुरलाई आँप उत्पादन केन्द्रका रूपमा चिनाउने, स्थानीय कृषकलाई बजारसँग जोड्ने तथा कृषि पर्यटनलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।
महोत्सव तयारीबारे जानकारी दिँदै आयोजक समितिका सदस्य प्रदीप महतोले स्थानीय कृषकले उत्पादन गरेका आँप तथा त्यसबाट निर्मित परिकारलाई एकै स्थानमा प्रदर्शन गरी उपभोक्ता र उत्पादकबीच प्रत्यक्ष सम्पर्क स्थापित गरिने बताए ।
उहाँका अनुसार महोत्सवले चित्रपुर क्षेत्रमा कृषि सम्भावना र स्थानीय उत्पादनलाई राष्ट्रियस्तरमा परिचित गराउन सहयोग पुग्नेछ । महोत्सवमा अचार, अमोट, आमिल, जुसलगायत आँपजन्य परिकारको प्रदर्शनी समेटिनेछ । पछिल्लो समय चित्रपुरका किसानको मुख्य आम्दानीको स्रोत आँपखेती बनेको छ ।
त्यस गाउँमा करिब ३०० बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिक रूपमा आँपखेती गरिएको छ । त्यहाँका अधिकांश किसानसँग आफ्नै आँप बगैँचा रहेको छ । यहाँ उत्पादन हुने आँप धनुषासहित मधेस प्रदेशका विभिन्न जिल्लामा बिक्री हुुँदै आएको छ ।
महोत्सवमा सहभागी हुने पर्यटकलाई आँप चखाउने मात्र नभएै विद्यार्थीलाई विभिन्न जातका आँप चिनाउने, बगैँचामा भ्रमण गराउने तथा कृषि र फलफूल उत्पादनप्रति आकर्षित गर्ने उद्देश्य राखिएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिथिला नगरपालिकाको ढल्केबर र जमुनिबास क्षेत्रबाट करिब चार किलोमिटर दूरीमा रहेको चित्रपुर मधेस प्रदेशकै महत्वपूर्ण आँप उत्पादन क्षेत्रका रूपमा परिचित छ । यहाँको हावापानी र माटो आँपखेतीका लागि अनुकूल मानिने भएकाले वर्षेनि ठूलो परिमाणमा आँप उत्पादन हुँदै आएको छ ।
स्थानीय तह, कृषक तथा सरोकारवाला निकायको सहकार्यमा आयोजना हुने महोत्सवले त्यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र ग्रामीण पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
व्यवसायी दिपक र शुलभलाई थप ३ दिन हिरासतमा राख्न अनुमति
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
७ वर्षमा पहिलो पटक चिनियाँ राष्ट्रपति सीको उत्तर कोरिया भ्रमण
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
कोहलपुरका विद्यालय तीन दिन बन्द
२३ सचिवको जिम्मेवारी हेरफेर, कृष्णहरि पुष्करसहित ६ जना अतिरिक्त समूहमा
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित
प्रतिक्रिया