सीजी हस्पिटालिटी ग्लोबलले पाँच वर्षमा ३५० होटल थप्ने लक्ष्यसहित लगानी विस्तार घोषणा

व्यावसायिक घराना चौधरी ग्रुपअन्तर्गतको सीजी हस्पिटालिटी ग्लोबलले पाँच वर्षमा ३५० होटल थप्ने लक्ष्यसहित लगानी विस्तार गरिरहेको छ।

सन् २०३१ सम्म सीजी हस्पिटालिटीअन्तर्गतको होटलको संख्या पाँच सय पुर्‍याउने लक्ष्य राखिएको उक्त कम्पनीले बताएको छ।

सीजी हस्पिटालिटीसँग भारतकै सबैभन्दा ठूलो होटल व्यवस्थापन कम्पनीमध्येको एक कन्सेप्ट हस्पिटालिटी/फर्न होटल पनि रहेको छ। जसले १५० भन्दा बढी मिड–मार्केटदेखि लक्जरी होटलहरू आफ्नै ब्रान्ड ‘द फर्न सिरिज बाइ मेरियट’ मार्फत व्यवस्थापन गर्दै आएको छ। सीजी हस्पिटालिटीले यसलाई बढाएर पाँच वर्षमा ५ सय पुर्‍याउने लक्ष्य राखेको बताएको छ।

लगानी विस्तारकै क्रममा भारतको सिलगुढीमा मेरियटअन्तर्गतकै ब्रान्डमा लक्जरी होटल निर्माणको घोषणा पनि गरिएको छ। सीजी हस्पिटालिटी ग्लोबलले मेरियट इन्टरनेशनल इंकअन्तर्गतको लक्जरी ब्रान्ड जेडब्लु मेरियटको व्यवस्थापन होटल सञ्चालन गर्ने घोषणा गरेको हो।

आतबार काठमाडौँमा मेरियट इन्टरनेसनल इंकका अध्यक्ष डेभिड मेरियटको उपस्थितिमा सीजी हस्पिटालिटी ग्लोबल र मेरियट इन्टरनेसनलले सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। भारतको सिलिगुडीस्थित मातिगरामा जेडब्लु म्यारियट होटल सञ्चालनमा आउने उनीहरूले बताएका छन्।

त्यसै गरी, सीजी डेभलपर्सले दुबई आइल्यान्ड्समा सेन्ट्रल दुबईकै पहिलो जेडब्लु म्यारियट ब्रान्डेड रेसिडेन्स होटल सञ्चालन गर्ने घोषणा पनि गरेको छ।     

दुई वर्षभन्दा कम अवधिको सहकार्यमा भारतमा ‘सिरिज बाई मेरियट’ अन्तर्गत ७५ भन्दा बढी होटल सम्झौता सम्पन्न भइसकेको चौधरी ग्रुपले बताएको छ। यस अवधिमा भारतमा ४३ सहरमा ५० होटल सञ्चालनमा आइसकेको बताइएको छ।

भारतबाहिर भने सीजी हस्पिटालिटीले फिलिपिन्समा ‘द फार्म एट सान बेनिटो र अटोग्राफ कलेक्सन’ सञ्चालनमा ल्याएको छ। सीजीले फिलिपिन्समा अटोग्राफ कलेक्सन ब्रान्डको पहिलो होटल प्रवेश गराएको हो।

यससँगै मेरियट इन्टरनेसनल र सीजी हस्पिटालिटीले ‘सिरिज बाई मेरियट’ ब्रान्डमार्फत् अन्य क्षेत्रहरूमा समेत सहकार्य विस्तार गर्ने सम्भावनाहरू खोजिरहेको बताएका छन्।

मेरियट इन्टरनेसनल इन्क अमेरिकाको मेरील्यान्ड राज्यस्थित बेथेस्डामा मुख्यालय रहेको विश्वप्रसिद्ध हस्पिटालिटी कम्पनी हो। सन् २०२६ मार्च ३१ सम्म मेरियट इन्टरनेसनल अन्तर्गतका ब्रान्डहरु १४६ देश तथा क्षेत्रहरूमा ९ हजार ९ सय भन्दा बढी होटलहरू सञ्चालनमा छन्।

कम्पनीले लक्जरी, प्रिमियम, मिडस्केल, एक्सटेन्डेड स्टे तथा अल–इन्क्लुसिभ श्रेणीका होटल, रेसिडेन्स, टाइमसेयर, याट तथा अन्य आवास सेवाहरू सञ्चालन तथा लाइसेन्स प्रदान गर्दै आएको छ। मेरियटले आफ्नो बहुप्रशंसित ट्राभल प्लेटफर्म ‘मेरियट बोनभोय’ समेत सञ्चालन गर्दै आएको छ।

चौधरी ग्रुपअन्तर्गतको हस्पिटालिटी शाखा सीजी हस्पिटालिटीसँग १२ देशका १३० गन्तव्यमा फैलिएका २२० भन्दा बढी होटल तथा रिसोर्ट रहेको बताएको छ। ती होटल तथा रिसोर्टमा १३ हजार ८३५ भन्दा बढी कोठाहरू रहेको विविध पोर्टफोलियो छ।

सीजी हस्पिटालिटीले विश्वप्रसिद्ध हस्पिटालिटी ब्रान्डहरू जस्तै आईएचसीएल (टाटा इन्टरप्राइज) अन्तर्गतका ताज, ताज सफारी, भिभान्ता, जेटविङ, डबल ट्री बाइ हिल्टन तथा फेयरमन्टसँग साझेदारी गर्दै आएको छ। सन् २०३० सम्म यो पोर्टफोलियो ६ सयभन्दा बढी होटल तथा ३० हजार कोठासम्म पुग्ने लक्ष्य रहेको सीजी हस्पिटालिटीले बताएको छ।

सीजी हस्पिटालिटीको पोर्टफोलियोमा माल्दिभ्सको ताज एक्सोटिका रिसोर्ट एण्ड स्पा, श्रीलंकाको जेटविङ विल उयाना तथा ताज समुद्र, फिलिपिन्सको द फार्म एट सान बेनिटो, नेपालको मेघौली सेराइ– अ ताज सफारिज लज, दुबईको ताज जुमेराह लेक्स टावर्स तथा केन्याको फेयरमन्ट द नोरफोक र फेयरमन्ट मारा सफारी क्लब, न्यूयोर्कको डबल ट्री बाई हिल्टन जेएफके एयरपोर्ट लगायतका विश्वप्रसिद्ध प्रपर्टीहरू समावेश छन्।