रास्वपाको जिल्ला अधिवेशनमा देशभर रवि पक्ष हाबी, बालेन र विवेकशील समूह कमजोर

राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदा संस्थापन पक्ष हाबी भएको छ। रास्वपाको शनिबार र आइतबार प्रथम अधिवेशन सम्पन्न भएका ५० बढी जिल्लाका कार्यसमिति बन्दा सबैजसोमा सभापति रवि लामिछानेनिकट नेता चुनिएका छन्। 

निर्वाचनअघि रास्वपामा बालेन्द्र शाह समूह र विवेकशील साझा पार्टीको एकता र समायोजन भएको थियो। 

शाह समूह र विवेकशील साझा पक्षलाई सभापति लामिछानेले पार्टीमा पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गरेका थिए। समूहगत भागबण्डाकै आधारमा गत फागुन २१ को निर्वाचनको प्रत्यक्ष र समानुपातिक उम्मेदवार तय गरिएको थियो। रास्वपाले १८२ सिट जितेपछि बालेन्द्र शाह नेतृत्वमा बनेको सरकारमा पनि भागबण्डाकै आधारमा मन्त्री नियुक्त गरिएको देखिन्छ। 

यही आधारमा रास्वपाको महाधिवेशन हुने महामन्त्री भूपदेव शाहले बताएका थिए। उनले एकताको महाधिवेशन भएकोले सर्वसम्मत नेतृत्व चयन गरेर सबै पक्षलाई समेटेर लैजान केन्द्रीय तहमा सहमति जुटेको दाबी गरेका थिए।

तर, प्रथम अधिवेशन भएका जिल्लामा उनीहरूको समूहगत उपस्थिति कमजोर देखिएको नेताहरू बताउँछन्। केही जिल्लामा रवि र बालेनगरी दुई समूह नै बनेको नेताहरू बताउँछन्। 

‘केही जिल्लामा पदमा आउनका लागि बालेन टिमको, म संस्थापन पक्षको भनेर साथीहरूले प्रचार गरेको पाइयो,’ अधिवेशनका लागि जिल्ला दौडाहमा रहेका एक नेताले भने, ‘केन्द्रबाट गएकाले हस्तक्षेप गर्ने कि नगर्ने भन्ने पनि भयो र चुनाव गरियो। तर, उनीहरू नै चुनावबाट पराजित भएका छन्।’

नुवाकोट, रसुवा, काभ्रे, सुनसरी, मोरङ, लगायत केही जिल्लामा यसअघि तदर्थ समितिमा रहेकै जिल्ला सभापतिमा निर्वाचित भएका छन्। झापा जिल्ला सभापतिमा निर्वाचित ओमनाथ भण्डारी केन्द्रीय संगठन विभाग सदस्य थिए। उनी रास्वपा स्थापनाकालदेखि नै छन्। यस्तै बागमती प्रदेश सदस्य रहेका राजन अर्याल धादिङ जिल्ला सभापति बनेका छन्। उनले तदर्थ जिल्ला सभापति सूर्यमणि पाठकलाई पराजित गरे।

रास्वपाले जेठ २६ गतेभित्र ४ जिल्लाबाहेक सबैको अधिवेशन सक्ने संगठन विभाग उपप्रमुख बोधनारायण श्रेष्ठले जानकारी दिए। 

‘डोल्पा, हुम्ला, मनाङ र मुस्ताङमा अधिवेशन हुँदैन, अन्य सबै जिल्लामा भइसक्छ,’ उनले भने।

चुनावी प्रक्रियाबाट जिल्ला अधिवेशन गरिएका ठाउँमा एकता र समायोजनबाट आएकाहरू पर्न नसकेको हुनसक्ने उनले बताए।

‘समायोजनको हकमा पार्टीले कसैलाई विभागमा, कसैलाई प्रदेशमा, केहीलाई संघीय नेतृत्वमा राखेको छ। तल जानुपर्दा एउटा प्रक्रियाभित्र सबै जानुपर्‍यो,’ उनले भने, ‘तदर्थ समिति पनि नयाँ नै हो। साथीहरूले धेरै ठाउँमा सहमतिको कोसिस गर्नुभयो, सहमतिका आधारमा छानिएको ठाउँमा सबैले स्वीकारेको देखियो। केही जिल्लाहरूमा निर्वाचन भएको छ, निर्वाचनमा पनि कहीँ दुईजना लड्नुभएको छ, कहीँ तीन जना हुनुहुन्छ। त्यसमा कार्यकर्ताले रुचाएकैलाई मत दिएको देखिन्छ।’

कोषाध्यक्ष लिमा अधिकारीले पनि प्रतिस्पर्धामा उत्रिन चाहनेलाई अवसर दिएको बताइन्। 

‘कतिपय जिल्लामा सहमति नभएको र आकांक्षीहरू धेरै हुँदा चुनाव नै गर्नुपरेको हो,’ उनले भनिन्। 

गुटगत प्यानल बनाउन रोक
रास्वपाले जिल्ला अधिवेशनमा चुनावी प्रतिस्पर्धा गर्न छुट दिए पनि गुटगत प्यानल बनाउन भने दिएको थिएन। जिल्ला जिल्लामा बालेन समूह र रवि समूहको भन्दै प्रचार हुन थालेपछि त्यसलाई रोक्न केन्द्रले निर्देशन नै पठाएको थियो। 

‘प्यानल खडा गरेर चुनाव लड्ने भन्दा पनि व्यक्तिगत रुपमा जसलाई मन लाग्छ उम्मेदवारी दिन पाउने भनेका थियौँ, गुट, यो धार, नयाँ–पुरानो भन्ने कुरा अन्त्य गर्नुपर्छ,’ संगठन विभाग उपप्रमुख श्रेष्ठले थपे, ‘धारको लडाइँ, गुटको लडाइँ गर्नुहुँदैन भन्नेबाटै दीक्षित गरेका छौँ।’

यद्यपि, एकाध ठाउँमा नयाँ–पुराना भनेर चुनाव नै भएको उनले बताए। 

‘हामीले मिल्नुहुन्छ भने मिल्नुस्, कसैको करकाप नमानीकन। होइन, करकाप फिल हुन्छ भने चुनाव लड्नुस्, जसले जित्छ, त्यसलाई स्वीकार गर्नुपर्‍यो, निर्वाचनपछाडि पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्छ भनेका हौँ,’ उनले भने।

तर, केही स्थानमा पुरानोले लियो, नयाँले पाएन भनेर पनि कुरा उठेको छ। रवि पक्षका नेताहरू यसलाई कार्यकर्ताले रोजाइको हिसाबले हेर्नुपर्ने बताउँछन्। 

‘निर्वाचनमा प्रतिस्पर्धा भएको हुनाले कोही मानिस भित्र, कोही बाहिर हुन्छन्,’ अर्का एक नेताले भने, ‘जहाँ सहमति भएको छ, सबै पक्ष मिलेका छन्। जहाँ चुनाव भएको छ, त्यहाँ आम प्रतिनिधिले जसलाई रुचायो, उही निर्वाचित भएको छ।’  

महामन्त्री भूपदेव शाह खटिएकै जिल्लामा पनि यसैगरी नतिजा आएको छ। रास्वपामा पछिल्लो दिन विभिन्न दलबाट प्रवेश गरेकाहरूको संख्या ह्वात्तै बढेको छ। पुरानो तरिकाको राजनीति नगर्ने भन्दै कतिपय जिल्लामा नयाँ नेतृत्व चुनिएको छ।

जिल्ला तहमा देखिएको माहोलले केन्द्रीय राजनीतिमा बदलाव ल्याउने सम्भावना देखाएको नेताहरू बताउँछन्।

‘जुन ट्रेन्डको राजनीति यहाँसम्म आइपुग्यो, अब परम्परागत रुपमा पार्टी संरचना चल्दैन, कोर्स परिवर्तन हुन्छ भन्ने संकेत हो यो,’ अर्का एक नेताले सुनाए, ‘हामी पनि पुरानै रुपमा हिँड्न थाल्यौँ भने हामीलाई पनि एकदमै छिटो छोड्छन् भन्ने देखियो। यही ट्रेन्ड कायम रहेमा केन्द्रमा धेरै नयाँ आउने सम्भावना देखिन्छ। केन्द्रमा अहिले रहेका नेता धेरै नआउने आधार जिल्ला अधिवेशनले देखाएको छ।’

रास्वपाले असार ७–९ मा एकताको प्रथम महाधिवेशन गर्दैछ। महाधिवेशनमा ३ हजार प्रतिनिधि हुनेछन्। सभापति लामिछाने, बरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति स्वर्णिम वाग्ले पुनः दोहोरिने समझदारी भइसकेको छ। 

‘रविप्रति सबैको अपेक्षा छ, आशा छ, भयंकर ठूलो आशा छ। बालेनले बिगारे भने पनि रविले सपार्छन् भन्ने आश जिल्लाका नेताहरूमा देखिन्छ। सरकारमा बस्दा तलमाथि केही बिग्रियो भने त्यसलाई सच्याउने व्यक्ति त छ नि हाम्रो मुख्य नेता भन्ने भाव पार्टीभित्र बलियोगरी स्थापित छ,’ एक पदाधिकारीले  भने।