नेदरल्यान्ड पुग्यो ह्यान्टा भाइरस प्रभावित क्रुज जहाज

 ह्यान्टा भाइरस प्रकोपको चपेटामा परेको क्रुज जहाज एमभी होन्डियस अन्ततः आफ्नै देश फर्किएको छ । जहाज नेदरल्यान्डको रोटरड्याम बन्दरगाहमा पुगेको हो । 

अहिले जहाजलाई पूर्ण डिसइन्फेक्सन गर्न सुरु गरिएको छ । जहाजमा रहेका २५ जना चालक दलका सदस्य र दुई जना मेडिकल कर्मचारी सुरक्षित रूपमा पुगेको जनाइएको छ । यात्रुहरूलाई भने पहिले नै विभिन्न स्थानमा उतारिसकिएको थियो । जहाज सञ्चालक कम्पनी ओसनवाइड एक्सपेडिशन्सका अनुसार हालसम्म जहाजमा रहेका कुनै पनि व्यक्तिमा रोगका लक्षण देखिएको छैन ।

यो जहाज पछिल्लो ६ दिनमा क्यानरी टापुहरूबाट यात्रा गर्दै आएको थियो, जहाँ यात्रुहरूलाई पहिले नै खाली गराएर २० भन्दा बढी देशतर्फ उडानमार्फत क्वारेनटिनमा पठाइएको थियो । प्रकोपका कारण कम्तीमा तीन यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ, जसमा एक डच दम्पती पनि रहेका छन् । 

उनीहरू दक्षिण अमेरिकाको भ्रमणका क्रममा प्रारम्भिक रूपमा सङ्क्रमणमा परेका हुनसक्ने स्वास्थ्य अधिकारीहरूले अनुमान गरेका छन् । हालसम्म कम्तीमा ११ जनामा सङ्क्रमण देखिएको र ९ वटा केस पुष्टि भइसकेको जनाइएको छ । 

विश्व स्वास्थ्य सङ्गठनले यो प्रकोपलाई हालका लागि न्यून जोखिमको रूपमा मूल्याङ्कन गरेको छ । तर यात्रु र चालक दलमा पहिले नै सङ्क्रमण भएको हुनसक्ने भएकाले थप केस देखिन सक्ने चेतावनी पनि दिइएको छ । 

क्यानडाको जनस्वास्थ्य एजेन्सीले जहाज छोडेर क्वारेनटिनमा रहेका ४ क्यानेडियनमध्ये १ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । नेदरल्यान्डकाे स्वास्थ्य मन्त्रालयका अनुसार बाँकी चालक दलका सदस्यहरूलाई पनि क्वारेनटिनमा राखिनेछ र जहाज पूर्ण रूपमा सुरक्षित प्रक्रिया पूरा भएपछि मात्र पुनः सञ्चालनयोग्य बनाइनेछ ।