‘आमा बिरामी हुन्छ’ भन्दै नक्कली सुन धितो राखेर ठगी गर्ने गिरोह पक्राउ

 ललितपुरका एक सुनचाँदी व्यवसायीलाई नक्कली गहना धितो राखेर पाँच लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आमा बिरामी भएको र उपचारका लागि पैसा चाहिएको भन्दै विश्वासमा पारेर सुनको लेप लगाएको नक्कली सुन र नक्कली बिल बिजक बुझाई उनीहरुले ठगी गरेका हुन्।

ऋण लिएर फरार रहेका व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ। यो समूहबाट अन्य व्यक्तिहरु समेत ठगिएको हुन सक्ने आशंका गर्दै प्रहरीले त्यस्तो भएमा परिसरमा सम्पर्क राख्न अनुरोध गरेको छ।

पक्राउ पर्नेहरुमा काठमाडौँ महानगरपालिका वडा नम्बर १४ बस्ने ४५ वर्षीया मिना कुमारी सुनुवार, दोलखा स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी बस्ने ३८ वर्षीय कालीदास धतानी र झापाको अर्जुनधारा घर भई हाल भक्तपुर बस्ने २७ वर्षीय अजित विश्वकर्मा रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट सुनको जस्तो देखिने तीन थान तिलहरी, छ थान ढिक्का, हरियो पोते सहितको एक थान तिलहरी र एक जोर चुरा रहेका छन्। त्यस्तै उनीहरुको साथबाट चाँदी जस्तो देखिने एक थान तिलहरी पनि बरामद गरिएको छ।