मानव सभ्यताको आधार नै नैतिकता, सत्य र आपसी सम्मानमा
मानव सभ्यताको आधार नै नैतिकता, सत्य र आपसी सम्मानमा टेकेको हुन्छ। तर आजको युग सूचना प्रविधि, भौतिक सम्पन्नता र प्रतिस्पर्धाको नाममा चलिरहेको यो “आधुनिकता” ले मानिसलाई आत्मकेन्द्रित बनाइरहेको छ। हाँसो कृत्रिम छ, सहयोग स्वार्थपूर्ण छ र सम्बन्धहरू देखावटी छन्। समाजमा बिना प्रमाण अरूको व्यक्तित्वमाथि दोषारोपण गर्ने, अरूको सफलता सहन नसक्ने र असत्यलाई सजिलो बाटो मान्ने प्रवृत्ति फैलिँदै गएको छ। विकासोन्मुख मुलुकहरुमा यो नैतिक पतन अझ गहिरो रूपमा देखिन्छ।
नैतिक पतनका मुख्य कारणहरू
क) भौतिकवादको अत्यधिक प्रभाव:
आजको समाजमा सफलता र सम्मान धन, पद र विलासितासँग जोडिन्छ। यसले चरित्र र नैतिकतालाई गौण बनाएको छ। मानिसको मूल्य “कति कमायो?” भन्ने हिसाबले नापिन्छ, “कस्तो व्यक्ति हो?” भन्ने हिसाबले होइन।
ख) शिक्षामा नैतिक शिक्षाको कमी:
हाम्रो शिक्षण प्रणालीले ज्ञान र सीप त दिन्छ तर चरित्र निर्माणमा कमजोर छ। विद्यार्थीहरूलाई नैतिक मूल्य, सहिष्णुता र इमानदारी सिकाउने अभ्यास नगर्दा उनीहरू भविष्यमा असंवेदनशील बन्न सक्छन्।
ग) राजनीतिक अस्थिरता:
राजनीतिक दलहरूमा प्रतिस्पर्धा सेवा होइन, सत्ता कब्जाका लागि हुन्छ। नेताहरूको स्वार्थपूर्ण आचरणले नैतिक पतनलाई अझ गहिरो बनाएको छ। जब नेतृत्व अनैतिक हुन्छ, समाज पनि त्यसैको अनुकरण गर्छ।
घ) सामाजिक सञ्जालको दुरुपयोग:
सञ्चार प्रविधिले चेतनाको विकास गर्नुको सट्टा धेरैलाई देखावटी जीवनमा सीमित बनाइदिएको छ। सत्यभन्दा बढी लोकप्रियता र भ्रामक जानकारीलाई प्राथमिकता दिइन्छ।
ङ) ईर्ष्या र पूर्वाग्रहको संस्कार:
अरूको प्रगति सहन नसक्ने, प्रमाणबिना आरोप लगाउने र अरूको प्रतिष्ठा घटाएर आफू माथि उठ्ने प्रवृत्ति सामान्य बन्दै गएको छ।
च) निचोडमाः
नैतिकता हराएपछि समाजमा विकासका सबै प्रयास खोक्रा हुन्छन्। भौतिक समृद्धि मात्रै होइन, मानसिक र नैतिक समृद्धि पनि उतिकै जरुरी छ। आज हामीले साँचो प्रगति चाहन्छौं भने सत्य, सदाचार, इमान र करुणाको अभ्यास पुनः आरम्भ गर्नैपर्छ।
नेपालले आफ्नो गौरवशाली इतिहास र संस्कारलाई सम्झेर “नैतिक पुनर्जागरण”को बाटो रोजेमा मात्र भोलिको उज्यालो सम्भव छ।
मितिः२०८२।०९।११
ज्यान मुद्दाका दोषी २६ वर्षपछि पक्राउ
भक्तपुरमा नमूना मतदान सम्पन्न
जेनजी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ
जेनजी आन्दोलनका शहीद परिवार भेट्न पुगे रवि लामिछाने
विचार : देशको राजनीतिक निकास,नयाँ पुस्ताको आवाज र पुरानो नेतृत्वको आत्मबोध
आलेख : बिरानो बन्यो मेची पारिको नेपाल
विचारः अनलाइन सञ्चार माध्यम व्यवस्थापनका वैकल्पिक मार्ग
प्रतिक्रिया