‘हाम्रोपात्रो’मा नयाँ ‘यति च्याट’ फिचर : एआई असिस्टेन्टसहित च्याट, अडियो–भिडिओ कलको सुविधा

नेपाली एप हाम्रोपात्रोले ‘यति’ नामक नयाँ च्याट फिचर सार्वजनिक गरेको छ। हाल यो फिचर बेटा भर्सनमा उपलब्ध छ, जसमार्फत प्रयोगकर्ताले आपसमा कुराकानीका साथै एआई असिस्टेन्टको सुविधासमेत लिन सक्नेछन्।

कम्पनीका अनुसार यो फिचर हाल एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ। प्रयोग गर्नका लागि प्रयोगकर्ताले हाम्रोपात्रो एपको बेटा भर्सन इन्स्टल गर्नुपर्नेछ, वा app.hamropatro.com मा गई पनि परीक्षण गर्न सकिनेछ।

बेटा भर्सन इन्स्टल गरेपछि एपको बटम बारमा रहेको कल आइकनमा ट्याप गरी मोबाइल नम्बर र ओटीपी कोड राखेर अकाउन्ट सक्रिय गर्न सकिन्छ। अकाउन्ट बनेपछि अन्य ‘यति’ प्रयोगकर्तासँग च्याट, अडियो कल, भिडिओ कल, फोटो–भिडिओ र स्टिकर आदान–प्रदान गर्न सकिन्छ।

यस फिचरको मुख्य आकर्षण भनेको ‘यति एआई’ हो। हाम्रोपात्रोका प्रमुख कार्यकारी अधिकृत शंकर उप्रेतीका अनुसार, यो एआई असिस्टेन्टमार्फत प्रयोगकर्ताले तिथि–मिति र पञ्चाङ्ग, विदेशी मुद्राको विनिमय दर, सुन–चाँदीको भाउ र विश्लेषण, राशिफल, ज्योतिष, समाचार, मोबाइल रिचार्ज, हाम्रो रेमिट तथा स्वास्थ्य परामर्श जस्ता जानकारी लिन सक्नेछन्। साथै हाम्रो पे प्रयोगकर्ताले यसैमार्फत रकम पठाउन र माग्न सक्ने सुविधा पनि पाउनेछन्।

कम्पनीले निकट भविष्यमा अडियो मेसेज पठाउने र ग्रुप च्याट सुविधा पनि थप्ने तयारी गरेको छ।

यति च्याट विकास गर्ने कार्य तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि सुरु गरिएको हो। हाम्रोपात्रो त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको थियो।

हाल यो फिचर बेटा चरणमै रहेको छ भने सबै प्रयोगकर्ताका लागि कहिले पूर्ण रूपमा सार्वजनिक हुन्छ भन्नेबारे कम्पनीले जानकारी दिएको छैन।

यसमा नयाँ वर्ष, चाडपर्व र अन्य विभिन्न विषयसँग सम्बन्धित नेपाली स्टिकर पनि उपलब्ध गराइएको छ ।