प्रतिनिधिसभाः कोशी प्रदेशमा थारु भाषालाई उपेक्षा गरेकामा सांसदको आपत्ति
काठमाडौँ, २८ साउनः प्रतिनिधिसभाको आजको बैठकमा सांसद अशोककुमार चौधरीले कोशी प्रदेश सरकारले यही साउन १५ गते पारित गरेको मैथिली र लिम्बू भाषालाई कामकाजको भाषामा समावेश गराउने निर्णयले थारु भाषालाई उपेक्षा गरेको भन्दै आपत्ति जनाउनुभएको छ । चार दशमलव २२ प्रतिशत मातृभाषा रहेको थारुलाई कामकाजको भाषामा समावेश नगरेर उपेक्षा गरेको बताउँदै उहाँले आपत्ति जनाउनुभएको हो ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले उठेर विरोध जनाएपछि सांसद चौधरीलाई बोल्ने समय दिइएको थियो ।
कोशी प्रदेश सरकारले थारु भाषालाई उपेक्षा गरेको बताउँदै सांसद चौधरीले सभामुखमार्फत सच्याउने व्यवस्था गर्न उहाँले माग गर्नुभयो । कोशी प्रदेशबाट आदिवासी भूमिपुत्र थारु समुदायको अपमान भएको भन्दै उहाँले त्यसलाई सच्याउनुपर्नेमा जोड दिनुभयो ।
पोखराको लिचीबारी जग्गा काण्डका बारेमा उल्लेख गर्दै सांसद चौधरीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गर्नुभयो । “जिबी राईलाई कहाँ लुकाएको, गिरीबन्धु टि स्टेटको फाइल कता हरायो, नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचैन झाको बयान के भयो ?”, उहाँले प्रश्न गर्नुभयो । भिजिट भिसा प्रकरणमा संसदीय वा उच्चस्तरीय न्यायिक छानबिन समितिको मागसहित रास्वपाको विरोध जारी रहेको पनि सांसद चौधरीले उल्लेख गर्नुभयो ।
राप्रपाका सांसद दीपकबहादुर सिंहले जनतासँग पैसा ठगेर माथिदेखि तलसमम्मको मिलेमतोमा भिजिट भिसा प्रकरणमा काम भइरहेकाले यसको विरोध निरन्तर रहने बताउनुभयो । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय आयोगको माग गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
सांसद सिंहले पूर्वप्रधानन्यायधीशद्वय सुशीला कार्की वा कल्याणकुमार श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्नुभयो । यस्तो आयोग नबनेसम्म बिना भत्ता राप्रपाले संसद् बहिस्कार गरिरहने पनि उहाँले जानकारी दिनुभयो । रास्वपाका सांसद चौधरी र राप्रपाका सांसद सिंहले बोलिसक्ने बित्तिकै दुवै दलका सांसदहरू संसद् भवनबाट बाहिरिएका थिए ।
ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते
विर्तामोडमा कोशी–बङ्गाल पर्यटन उत्सव
चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै
कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने
कोशी प्रदेश सरकारको मन्त्रिपरिषद बैठक सम्पन्न
कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर
काठमाडौं-२ मा राप्रपाका प्रदेश सांसदलाई रास्वपाले किन बनायो उम्मेदवार ?
प्रतिक्रिया