एक अर्ब ४७ करोड भ्रष्टाचारको अभियोग ,कांग्रेस नेता जीवनबहादुर शाहीसहित ३० जनाविरुद्ध मुद्दा

नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकालेको छ।

ती जहाज खरिदका क्रममा डेढ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित तत्कालीन राजनीतिक र प्रशासनिक नेतृत्वसहित ३० जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाउने निर्णय लिएको हो।

प्रमुख आयुक्त प्रेमकुमार राईको अध्यक्षतामा बिहीबार बसेको बैठकले अनुसन्धान अधिकृतको प्रतिवेदनअनुसार मुद्दा चलाउने निर्णय गरेको स्रोतले बताएको छ। अख्तियारले यो खरिद प्रकरणमा मुछिएका कांग्रेस नेता एवम् तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार सहित ३० जनालाई प्रतिवादी बनाउँदै फाइल विशेष अदालतमा पठाइएको छ। 

निगमले पाँच वर्षअघि वाइडबडी विमान खरिद गरेको थियो। जहाज खरिद प्रक्रिया कानुनसम्मत नभएको भन्दै अख्तियारमा उजुरी परेको थियो।  उजुरी परे पनि अख्तियारले छानबिन गरेन। तर गत मङ्सिरमा अख्तियारले सार्वजनिक सूचना जारी गरेर जहाज खरिद प्रकरणमा संलग्न तीनवटा विदेशी कम्पनीका सञ्चालक र प्रतिनिधिलाई बयानका लागि बोलाएको थियो। 

त्यसपछि लगातार छानबिन र अनुसन्धान जुटेको अख्तियारले बल्ल अनुसन्धान सकेर मुद्दा चलाउने निर्णय गरेको हो।