‘रगतको होली’ खेलेकाे फागु पूर्णिमाको त्याे रात

काठमाडौं । ललितपुर २६ ढोलाहिटी क्षेत्र, सुनसान सडक । रातको ११ बज्नै लागेको थियो । फागु पूर्णिमा (होली) भएकाले साइरन बजाउँदै फाट्टफुट्ट गस्तीमा कुदिरहेका थिए प्रहरीका गाडी ।

पसल सटर र होटल बन्द भइसकेका थिए । दिनभर होली खेलेर थाकेका मानिस सुतिसकेका थिए । चकमन्न थियो । त्यही शून्यतालाई चिर्दै केही युवा मोटरसाइकलको चर्को आवाजसहित आए ।

‘हानहान नछोड’, ‘पख्लास् तँलाई’ यस्तै आवाजले छिमेकीको निन्द्रा भङ्ग भयो । सडक बाहिर २ जना ढलेका थिए । उनीहरू रगतपिच्छे देखिन्थे । सडकमा रगतको आहाल थियो । बियरको बोतल छरपस्ट थिए । रगताम्मे कपडा छरिएका देखिन्थे ।

‘अस्पताल लैजाऔँ, अस्पताल लैजाऔँ’ केही युवा चिच्याइरहेका थिए । तीमध्ये एकजनालाई स्कूटरमा राखेर र अर्कालाई ट्याक्सीमा हालेर अस्पताल लगियो ।  ‘पुलिस आउँछ, भाग भाग’ भन्दै अरू युवा मोटरसाइकलमा भागे।

घटनास्थल ढोलाहिटी
०००
काठमाडौं उपत्यकामा दिनभर होली शान्त भयो । सामान्य अभद्र व्यवहारबाहेक ठूला घटना भएनन् । ट्राफिक नियम पालना नगर्ने केही सवारीसाधन समातिएका थिए ।आ-आफ्नो क्षेत्रमा गस्तीपछि सबै प्रहरीबिटबाट ‘शान्तिपूर्वक होली सकिएको’ रिर्पाेटिङ आएको थियो ।

होलीलाई शान्तपूर्वक सम्पन्न गरिएकोमा खुसी महसुस गर्दै ललितपुर प्रहरी परिसरका अधिकारी थकान मेट्दै थिए । कोही सुत्ने तरखरमा थिए, कोही नाइट ड्यूटीको तयारीमा थिए ।यत्तिकैमा पाटन अस्पताल वरपर गस्तीमा रहेका प्रहरीले ललितपुर प्रहरी परिसरमा खबर गरे, ‘चक्कु हानाहान भएछ, मान्छे मरेको छ ।’

अघि ढोलाहिटी क्षेत्रबाट स्कूटरमा ल्याइएको घाइतेको ज्यान गएको रहेछ । छातीमा गहिरो चोट लागेकाले उनलाई बचाउने प्रयास असफल भयो । प्रहरीले घाइतेलाई स्कूटरमा ल्याउने व्यक्तिलाई नियन्त्रणमा लियो ।घटनापछि ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी शेखर खनाल, एसपी नरेश सुवेदीलगायत प्रहरी अधिकारी पाटन अस्पताल पुगे ।

लगत्तै स्कूटर चालकको बयानको आधारमा अघि घटनास्थलबाट ट्याक्सीमा लगिएका घाइतेको खोजी भयो । उनी अस्पतालमा भेटिएनन् ।ललितपुर प्रहरीलाई सुमेरु अस्पतालबाट खबर पुग्यो— एक युवकलाई धारिलो हतियार प्रहार भएको अवस्थामा यहाँ ल्याइएको छ ।

घटना भएको खाजाघर ‘डी पोपिना’, ढोलाहिटी
अर्का घाइतेलाई सुमेरु अस्पताल लगिएको प्रहरीले थाहा पायो । एकै घटनामा २ जना घाइते भएको भनेपछि घटना ठूलै रहेको भन्ने प्रहरीले थाहा पाए ।

ललितपुर प्रहरी परिसर प्रमुख खनाल, एसपी सुवेदीलगायत प्रहरी अधिकारी तत्कालै सुमेरु अस्पताल पुगे । ती घाइते पनि जीवित थिएनन् । छुरा प्रहारबाट उनको सास गइसकेको थियो । उनको अत्यधिक रक्तस्रावको कारण ज्यान गएको डाक्टरले बताए ।

०००

यो घटना ललितपुर महानगरपालिका–२६ ढोलाहिटीको हो, फागु पूर्णिमा (आइतबार)रातिको । जहाँ दुई समूहका युवाबीच स्थानीय ‘डी पोपिना खाजा घर’मा सामान्य विषयमा विवाद हुँदा चक्कु हानाहान भएको थियो । घटनापछि दुई जनाको ज्यान गयो । उनीहरूबीच ग्याङ फाइट भएको थियो ।

घटनास्थलमा भेटिएको रगत लागेको कपडा
मृतक दुवैजना फरक-फरक समूहका रहेको ललितपुरका एसपी सुवेदीले बताए । पाटन अस्पताल मृत्यु हुने थिए, पाँचथर घर भइ ढोलाहिटी बस्ने २८ वर्षीय रोवश राई ।

सुनसरी घर भएका ३० वर्षीय पूजन राईको सुमेरु अस्पतालमा मृत्यु भएको हो । उनीहरूलाई आ-आफ्नो समूहले अस्पताल लगेका थिए ।प्रहरी ढोलाहिटीस्थित खाजा घर पुग्दा बाहिर रगत लागेको अवस्थामा चक्कु थियो । ज्याकेट रक्ताम्मे थियो । खाजा घरभित्र रगतको आहाल थियो ।

सडकमा पनि रगतको टाटा थिए । विभिन्न कोणबाट अनुसन्धान गरेर प्रहरीले हत्यामा संलग्नको आरोपमा दुवै समूहका गरी १८ जनालाई पक्राउ गरेको छ ।

अनि खेलियो रगतको होली !
रातको पौने १० बजेको थियो, रोवश राईको समूह मदिरा सेवन गर्न डी पोपिना खाजा घरमा पुग्यो । रोवश भने थिएनन्, उनका साथीहरू मात्र थिए । उनीहरू पहिल्यै मातेका थिए ।

पूजन राईको अर्को समूह होटेलमै थियो, उनीहरू पहिल्यैदेखि मदिरा सेवन गरेर बसेका थिए । रोवशको समूह होटेलमा आएपछि पूजनको समूहले ‘घर जा’ भन्दै धकेल्न थाल्यो । त्यसबाट विवाद सुरू भयो ।आफू पूजनको समूहबाट हेपिएपछि रोवशको समूहका युवाले रोवशलाई फोन गर्दै तत्कालै खाजा घरमा बोलाएका थिए । केहीबेरमा रोवश खाजाघरमा पुगे ।

घटनास्थलमा देखिएको रगतको टाटा र बियरको बोटल
आफ्नो केटाहरूलाई हेपेको भन्दै पूजनको समूहमाथि जाइलागेको प्रहरीको भनाइ छ । पछि दुई पक्षबीच झडप भयो । पूजनको समूहले हानेको चक्कुले रोवशलाई छातीमा चोट लाग्यो । पछि उनको ज्यान गएको हो ।

सुमेरु अस्पताल पुर्‍याउनेबित्तिकै पूजनको पनि ज्यान गएको थियो । उनलाई अस्पताल लैजाने साथी फरार भएका थिए । भाग्दै गर्दा उनी पक्राउ परेका थिए । दुवै जनाको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ।

घटनाबारे जानकारी पाउनासाथ अनुसन्धानमा खटिएको टोलीले १८ जनालाई पक्राउ गरेको छ । उनीहरू दुवै समूहका हुन् । खाजाघरका तीन सञ्चालकमध्ये एक विजय राई पनि पक्राउ परेका छन् ।