पूर्वसांसद अफताब आलमसहित चार जनालाई जन्मकैद

काठमाडौं, १३ वैशाख नेपाली कांग्रेसका पूर्व सांसद मोहम्मद अफताब आलमसमेत चार जनालाई जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला गरेको छ । चार वर्षअघि दायर मुद्दामा बल्ल फैसला आएको हो । लापरवाहीपूर्वक काम गरी ज्यान मारेको तथा विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान लिएको अभियोगमा जिल्ला सरकारी वकीलको कार्यालयले सांसद आलमसमेत ११ जनामाथि मुद्दा दायर गरेको थियो । 

यसमध्ये ४ जनालाई जन्मकैद र एक जनालाई सफाइ दिने फैसला भएको छ । यसैगरी ६ जनाको हकमा मुद्दा मुल्तवीमा राखिएको छ । 

रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यले यस्तो फैसला गरेका हुन् । अदालतका अनुसार अफताब आलमका साथै महताव आलम, शेष सेराज र बद्री सहनीलाई पनि जन्मकैद भएको छ । 

अदालतले मुक्ती साहलाई सफाइ दिएको छ । यसैगरी मोहम्मद मोबिन, शेष फजलेहक, शेष भदइ, सागिर आलम, गौरीशंकर साह र शेष मालाकारको हकमा मुद्दा मुल्तवी राखिएको छ । 

यस घटनामा १८ कात्तिक २०७६ मा मुद्दा दायर भएको थियो । २०६४ साल चैतकै घटनामा १२ वर्षपछि बल्ल मुद्दा दायर भएको थियो । 

रौतहटको राजपुरमा बम बनाउँदै गर्दा विष्फोट भएपछि अफतावसमेतले घाइते भएकाहरुलाई इँट्टाभट्टामा राखी जिउँदै जलाएका थिए । यस घटनामा प्रहरीमा उजुरी गर्न जाने तथा बयान दिनेहरुलाई समेत अफताबले हत्या गर्न लगाएका थिए ।