ओलीको अनिच्छाका बीच एमाले राजनीतितर्फ अघि बढेका भण्डारीका पाइला

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा नेकपा स्थापना भएको ७५औँ स्थापना दिवस (हीरक महोत्सव) समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान प्रदान गरेका हुन् ।

महोत्सव समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत प्रमुख दलका नेताहरूको पनि उपस्थिति थियो ।

आइतबार सम्पन्न एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई सम्मान गर्ने प्रस्ताव पारित गरेको थियो । मुलुकको लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याएका र राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरूलाई सम्मान गर्ने घोषित योजनाअनुसार भण्डारीलाई सम्मान गरिएको एमालेले जनाएको छ । 

झट्ट हेर्दा यो कार्यक्रम अरु कुनै उद्देश्यले नभई विद्या भण्डारीलाई राजनीतिक मञ्चमा निम्त्याउने र त्यसलाई सर्वस्वीकार्य बनाउँदै लैजानका निम्ति गरेको देखिँदै थियो । अझ भन्दा राजनीतिमा उनको सान्दर्भिकता र महत्ता स्थापित गर्न यो सबै तारतम्य मिलाइएको थियो ।  

अर्को साता एमालेले जनसंगठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्दै छ । जनसंगठन समन्वय संयन्त्रको बैठकले आगामी जेठ १६ र १७ गते जनसंगठनहरूको महिला राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो । भेला व्यवस्थापनका लागि अखिल नेपाल महिला संघका अध्यक्ष टुकादेवी हमालको संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । समग्र महिला आन्दोलनको इतिहास, नेतृत्व र उपलब्धिलाई स्मरणसहित स्थापित गराउन २३ वटै जनसंगठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्न लागिएको एमालेको भनाइ छ ।

त्यस कार्यक्रममा पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नै निम्त्याइएको छ । अर्थात् पार्टीको उक्त मञ्चको प्रमुख अतिथि भण्डारी रहने र अध्यक्ष केपी शर्मा ओलीले भेलाको समापन गर्ने कार्यक्रम तय गरिएको छ ।

यसबाट के बुझिन्छ भने शीतलनिवासबाट बाहिरिएपछि विद्या भण्डारी चपली दरबारको चार बुर्जाभित्र कैद भएर बस्न उनी तयार छैनन् । पूर्वराष्ट्रपतिका हैसियतले सारा सुविधा लिएर पनि रामवरण यादवले दिनदिनैजसो गनगन गरिरहँदा विद्या भण्डारी सरकारले दिने सुविधा पनि नलिएर आफ्नै दरबारजस्तो घरमा बस्न पुग्नुको रहस्य पनि विस्तारै खुल्दै छ । 

गत साउन २८ गते पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा ल्याउने कोसिसको सोझै खण्डन गरेका थिए । खासमा उनले त्यो पत्रकार सम्मेलन नै पार्टी राजनीतिमा उनलाई ल्याउन खोज्नु वा उनी आउँछन् भन्न खोज्नु नै पार्टी विभाजनको षड्यन्त्रका रुपमा व्याख्या गरेका थिए । राष्ट्रपति भइसकेको व्यक्ति आफ्नो थान्कोमा बस्नुपर्ने उनको संकेत थियो । 

तर ओलीले रोक्दैमा विद्या रोकिनेवाला छैनन् भन्नेचाहिँ त्यसपछिका घटनाक्रमले देखाइसकेको छ । स्वयं ओलीले पनि एक महिनामै आफ्नो बोली सुधार्नुपरेको स्थितिले पनि त्यसको संकेत गरिसकेको थियो । किनभने त्यसको अर्को महिनातिर कोसी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीबाट विद्या भण्डारीलाई पार्टीमा निषेध नगरिएको र सधैँ वेलकम रहेको बताएका थिए । 

यसो भन्नुको तात्पर्य यो हो कि स्वयं ओलीले रोक्न खोज्दा पनि विद्या रोकिन्नन् र यो विषय ‌ओलीको काबुभित्र पनि छैन । आइतबार एमाले प्रतिनिधि परिषदको बैठक समापनसँगै विद्यालाई गणतन्त्र गौरव सम्मान घोषणा गर्दा ओली सभास्थलमा थिएनन् । उनी बिरामी परेका कारण आएन नसकेको भनिएको थियो । कतिपयले एमालेले त्यस दिन भण्डारीलाई गणतन्त्र गौरव सम्मान दिने घोषणा गर्दा उनलाई असहज लागेको हुन सक्ने ठानेका छन् र एमालेभित्रै त्यसको चर्चा चर्को रुपमा हुन थालेपछि भोलिपल्ट हीरक महोत्सवमा अस्वस्थताका बाबजुद ओली उक्त सम्मान हस्तान्तरणमा पुगेका थिए । 

प्रचण्ड र देउवालाई नै साक्षी राखी ओलीले राजनीतिक मञ्चबाट विद्यालाई सम्मान गरी राजनीतिको ढोका खोलिदिएपछि अब भने विवाद र द्वन्द्व मत्थर होला भन्ने विद्या पक्षको बुझाइ छ । यसैगरी क्रमशः विद्या दलीय राजनीतिभित्र प्रवेश गर्दै छन् । केपी ओलीका कारण एमाले विभाजन भएको र नेकपाको एकता पनि टिकाउन नसकेको ठानेकी विद्या अब प्रचण्डदेखि विप्लवसम्मलाई एकै मञ्चमा ल्याउन चाहन्छिन् । माधव नेपालर वामदेव गौतमलाई पनि उनी पार्टीमा केन्द्रीकृत गराउन खोजिरहेकी छन् ।

ओलीले वाम ध्रुवीकरण देशको आवश्यकता र समाधान होइन भनिरहँदा विद्याको भाषा अब प्रचण्डले बोल्न थालेका छन् । यदि ओलीले विद्याको लवज बुझेनन् भने विद्याले अरु ओलीको सान्दर्भिकताबारे बहस चलाइदिन बेर लगाउने छैनन् । किनभने एमाले र वाम राजनीतिभित्र विद्या कति शक्तिशाली र प्रभावी छन् भन्ने कुरा ओलीको अनिच्छाका बीच विद्यालाई राजनीतिको केन्द्र भागमा ल्याइपुर्‍याउनका निम्ति एमालेकै मञ्चबाट भइरहेका गतिविधिहरुबाटै प्रस्ट भइसकेको छ ।