नक्कली भुटानी शरणार्थी प्रकरण : मियाँ र आङटावासँग धरौटी माग गर्न आदेश

काठमाडौं १३ वैशाख, सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका दुई जनालाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ । उच्च अदालत पाटनले गत १५ मंसिरमा नौ जनालाई थुनामै राख्ने आदेश गरेको थियो । 

उनीहरु उच्चको आदेशविरुद्ध सर्वोच्च पुगेकोमा सर्वोच्चको संयुक्त इजलासबाट बिहीबार यस्तो आदेश भएको हो । यद्यपि आदेशको लिखित भने आइसकेको छैन । 

सर्वोच्चले टेकनारायण पाण्डेको रिट खारेज गरेको छ । यसैगरी थुनामा रहेका आङटावा शेर्पा र गोविन्द कुमार चौधरीको हकमा आदेश बदर गर्दै थुनामुक्त गरेको छ । उनीहरुसँग धरौटी माग्ने आदेश भएको हो । 

यसैगरी समेशर मियाँलाई साधारण तारेखमा राख्ने आदेश भएको छ । उनीसँग उच्चले धरौटी मागेको थियो । 

अन्य प्रतिवादीहरु केशवप्रसाद दुलाल, सन्देश शर्मा, टोपबहादुर रायमाझी, सागर राई, इन्द्रजित राईलाई सानु भण्डारीलाई कानूनबमोजिम गर्ने आदेश भएको छ । गत वर्ष १० जेठमा मुद्दा दायर भएको हो । 

सरकारी वकीलको कार्यालयले ३० जना प्रतिवादीहरुमाथि ठगी, किर्तेलगायतका मुद्दा दायर गरेको छ । जिल्ला अदालत काठमाडौंमा दर्ता मुद्दामा उनीहरुमाथि २८ करोड ८१ लाख ७४ हजार रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यस्तो आदेश गरेको हो।