मकाउस्थित एक रिसोर्टमा कार्यरत दुई नेपालीबीच छुरा हाना हान्

काठमाडाै। मकाउमा कार्यरत दुई नेपालीबीच पैसा लेनदेनमा कुरा नमिलेपछि स्थिति छुरा प्रहारसम्म पुगेको छ।

बिहीबारको नियमित पत्रकार सम्मेलनका क्रममा मकाउको पब्लिक सेक्युरिटी पोलिस (पीएसपी)ले पैसा लेनदेनको विषयमा कुरा नमिलेपछि चक्कु आक्रमण भएको जानकारी दिएको हो।

प्रहरीले जनाएअनुसार एक नेपालीले आफ्नो साथीलाई गतवर्ष ४ हजार ऋण दिएका थिए। तर, उक्त रकम उनले फिर्ता त पाएनन् नै, उल्टै थप दुई हजार पटाका पनि मागे। उक्त रकम पीडितले दिन नमान्दा उनीमाथि चक्कु आक्रमण भएको हो।

घटना ताइपास्थित नामसान गार्डेन र हाइपोड्रोमो गार्डेन नजिकैको सडकमा घटेको हो।घटना घटेको राति प्रहरीले जारी गरेको विज्ञप्तिमा पीडकले आफ्नो ऋण उठाउन नसकेपछि आक्रमण गरेको बयान दिएका थिए।

पीडकको दाबीअनुसार उनले गतवर्ष पीडितलाई ५० हजार हङकङ डलर सापटी दिएको तर उक्त रकम फिर्ता नगरेको झोकमा आफूले छुरा प्रहार गरेको दाबी गरेका थिए।

तर, हिजोको पत्रकार सम्मेलनमा प्रहरीले उल्टै पीडितले नै आफ्नो पैसा फिर्ता नपाएको पाइएको बताएको छ।पीडितको स्मार्टफोन जाँच गर्दा उनको मोबाइलमा भएका टेक्स्ट म्यासेजबाट पीडितले पैसा पाउनुपर्ने देखिएको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको हो।

चक्कु आक्रमणबाट ४० वर्षीय पीडितको निधार, छाती, बायाँ कुहिनो र दाहिने औँलामा चोट लागेको छ।बिहीबार दिउँसो गरिएको पत्रकार सम्मेलनमा प्रहरी अधिकारीले पीडित साँझसम्म अस्पतालबाट डिस्चार्ज हुने बताएका थिए।

पीडक र पीडित दुवै जना गैरआवासीय कामदार भएको र उनीहरू नेपाली रहेको प्रहरीलाई उद्धृत गर्दै द मकाउ पोस्टले जनाएको छ।चक्कु आक्रमण गर्ने ३० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरिसकेको छ।

उनीहरू मकाउस्थित एक रिसोर्टमा कार्यरत छन्। उनीहरूको पूर्ण विवरण भने खुलाइएको छैन।