भूकम्पसम्बन्धी जानकारीमूलक प्रदर्शनी सुरु

काठमाडौँ, ९ वैशाख : भूकम्पसम्बन्धी सम्पूर्ण जानकारी दिने प्रदर्शनी नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आजबाट सुरु भएको छ ।  त्रिचन्द्र क्याम्पसको भूगर्भशास्त्र विभाग र मानविकी तथा सामाजिक शास्त्र सङ्काय, हिरोशिमा युनिभर्सिटी जापानको संयुक्त आयोजित ‘टच द इन्डो–युरोसेयिन प्लेट बाउन्ड्री’ नामक प्रदर्शनी सुरु भएको हो । 

    प्रदर्शनीका संयोजक तथा विभागका सहप्राध्यापक डा दीपक चम्लागाईंले भूकम्पसम्बन्धी सम्पूर्ण जानकारी दिनु नै प्रदर्शनीको मुख्य आकर्षण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्रदर्शनी भूकम्पसम्बन्धी अध्ययन गरिरहेका अनुसन्धानकर्ता र विद्यार्थीलाई निकै उपयुक्त छ । भूकम्प कसरी जान्छ ? यसले पार्ने प्रभावलाई हामीले स्पष्ट तरिकाले देखाउन खोजेका छौँ ।” 

    उहाँले नेपाल भूकम्पीय दृष्टिकोणले संसारकै जोखियमुक्त देश मानिने भएकाले समुदायस्तरमा नै भूकम्पसम्बन्धी जानकारी गराउने उद्देश्य प्रदर्शनीले राखेको बताउनुभयो । “भूकम्पपछि देखिने विभिन्न दरारहरु अध्ययन गरेका छौँ । त्यसको अवशेष पनि ल्याएका छौँ । भूकम्पीय दरारहरु विद्यार्थी र जनमानसमा कसरी चिनाउने नै हाम्रो मुख्य लक्ष्य हो”, उहाँले भन्नुभयो ।

    त्यसैगरी जापानका सहप्राध्यापक डा यासुहिरो कुमहाराले यस प्रदर्शनीले भूकम्प कसरी जान्छ र त्यसपछिका अवस्थालाई ‘थ्रिडी मोडल’ नै बनाएर प्रस्तुत गर्न खोजिएको जानकारी दिनुभयो । “हामीले अनुसन्धान गरेर दरारहरु पत्ता लगाएर त्यस विषयमा बुझाउन यो प्रदर्शनी गरेका हौँ । भूकम्पीय दरारहरुकै नमूना ल्याएर देखाउन खोजेका छौँ ।” उहाँले आगामी दिनमा भूकम्पसम्बन्धी सङ्ग्रहालय नै नेपालमा बनाउन सके राम्रो हुने बताउनुभयो । प्रदर्शनी बिहीबारसम्म चल्नेछ । प्रदर्शनीमा भूकम्पसबन्धी विद्यार्थीका चित्रकला पनि समावेश रहेको छ ।