रुसी कन्सर्ट हलमा आक्रमण : मृतकको संख्या ११५ पुग्यो, ११ जना पक्राउ

मस्कोमा भएको आतंकवादी आक्रमणमा मृत्यु हुनेको संख्या ११५ पुगेको रुसी सञ्चारमाध्यमले जनाएका छन्। घाइतेको संख्या १८७ रहेको बताइएको छ। मस्कोका गभर्नर आन्द्रेइ वोरोव्योबले मृतक संख्या बढ्नसक्ने बताएका छन्।

आक्रमणमा संलग्नताको अभियोगमा ११ जना पक्राउ परेका छन्। जसमध्ये चार जना आक्रमणमा प्रत्यक्ष संलग्न रहेको बताइएको छ। रुसको फेडेर सेक्युरिटी सर्भिस (एफएसबी)ले उनीहरुलाई समातेको हो। उनीहरु युक्रेनसँगको सीमा नाघेर जान लागेको एफएसबीको आरोप छ।

ती चार जनालाई ब्रियान्स्क क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ। मस्कोमा यो सप्ताहन्तमा आयोजित सबै कार्यक्रम रद्द गरिएको छ। मस्कोका चार मुख्य विमानस्थलहरुमा उच्च सतर्कता अपनाइएको छ।  राष्ट्रपति भ्लादिमिर पुटिनले घटनाबारे राष्ट्रका नाममा सम्बोधन गर्ने अपेक्षा गरिएको छ।