सेनामा विवादको तुफान सकियो, ताराध्वज पाण्डे भावी प्रधानसेनापति निश्चित

सुन्नुहोस्

यो समाचार बर्णन मिडियाका प्रधान सम्पदक तथ संचालक नारायण प्रसाद दाहाल ज्युले लेख्नु भएको हो।
 

नेपाली सेनामा भावी प्रधानसेनापतिको दौड लगभग सकिएको छ । उपरथी ताराध्वज पाण्डेले नै आउँदो वर्षको भदौबाट राष्ट्रिय सेनाको कमाण्ड सम्हाल्ने निश्चित भएको छ । 

प्रधानसेनापति प्रभुराम शर्मा चीनबाट फर्किएपछि उपरथी पाण्डेलाई रथीमा बढुवा गर्न जंगी अड्डाले सिफारिस गर्ने टुंगो लागेको छ । प्रधानसेनापति शर्मा अध्यक्ष रहेको बढुवा समितिले युद्धकार्य विभागका प्रमुख उपरथी पाण्डेलाई रथीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरिसकेको छ। समितिले उक्त निर्णयको जानकारीसहित असोज ३० गते नै ७ दिने सूचना जारी गरेको थियो। 

यस अवधिमा पाण्डेविरुद्ध बढुवा समितिमा कुनै उजुरी नपरेकाले अब बढुवाको प्रक्रिया अगाडि बढ्ने सैनिक मुख्यालयका प्रवक्ता कृष्णप्रसाद भण्डारीको भनाइ छ। सैनिक नियमावलीअनुसार बढुवाका लागि सूचना सार्वजनिक भएको ७ दिनभित्रमा बढुवा सिफारिस हुने व्यक्तिविरुद्ध उजुरी गर्न सकिने व्यवस्था छ। तर पाण्डेविरुद्ध कुनै उजुरी नपरेकाले निर्बाधरुपमा उनको बढुवा हुने निश्चित भएको हो । 

प्रधानसेनापति शर्मा हाल चीन भ्रमणमा छन् । उनी बिहीबार स्वदेश फर्किँदै छन् । नेपाल फर्केलगत्तै प्रधानसेनापतिले बढुवा समितिको निर्णयसहित अब पाण्डेलाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालयमा सिफारिस पठाउनेछन्। मन्त्रालयले मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाएपछि सरकारले निर्णय गर्नेछ।

रथी सरोजप्रताप राणा अनिवार्य अवकासमा गएपछि रिक्त भएको स्थानमा पाण्डेलाई बढुवा गर्न लागिएको हो । कात्तिक १२ गतेबाट राणा अवकास भइसकेका छन् । उनी १५ दिनअघि अर्थात् असोज २८ बाट बिदामा बसिसकेका थिए। 

नेपाली सेनामा पाण्डेभन्दा अघिल्लो वरीयतामा रहेका हालका रथी सीताराम खड्का पुस पहिलो साता नै उमेर हदका कारण अवकासमा जानेछन् । उनको अवकासपछि पाण्डे वरिष्ठतम् रथी बनेर भावी प्रधानसेनापतिको रोलक्रममा रहनेछन् । हालका प्रधानसेनापति शर्मा आउँदो वर्षको भदौ २४ मा सेवानिवृत्त हुनेछन् ।

खड्काको अवकासपछि रिक्त हुने रथी पदमा हालका उपरथी अशोकराज सिग्देल बढुवा हुनेछन् । पाण्डेपछिका वरिष्ठतम् उपरथी सिग्देल नै हुन् । तर, अहिले पाण्डेको बढुवाका क्रममा सिग्देलले अव्यावसायिक रूपमा चलखेल र प्रचारबाजी गराए उनको बढुवा प्रभावित हुन पनि सक्छ ।

अहिले पाण्डेको शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा फरकफरक जन्म मिति भएको कागजातबारे विभिन्न सञ्चार माध्यममा प्रचारमा ल्याइएको छ । त्यस्तै कूटनीतिक विषयमा पनि उनलाई विवादमा ल्याउन खोजिएको छ । सेनाको स्थापित प्रक्रियामा रहेर भित्र उजुरी नगर्ने तर बाहिर प्रचारबाजी गर्ने भनेर अहिले पाण्डेका प्रतिस्पर्धी सिग्देलमाथि जंगी अड्डाले शंका गरिरहेको छ । यदि यस खालको प्रचारबाजीमा प्रधानसेनापतिको संरक्षण छैन भने अवश्य पनि सिग्देल छानबिनमा पर्न सक्नेछन् । त्यस्तो अवस्थामा उनलाई रथीमा बढुवा गर्दा अप्ठ्यारो पर्न सक्छ ।

नेपाली सेनाका सबै अधिकारीहरुका शैक्षिक प्रमाण पत्र र नागरिकतासम्बन्धी विवाद र आशंकाहरुका विषयमा यसअघि पूर्णचन्द्र थापा सेना प्रमुख हुँदा छानबिन भइसकेका हुन् । त्यतिखेर कैफियत देखिएका धेरै सैनिक कर्मचारीमाथि कोर्ट मार्सल पनि गरिएको थियो ।

तीमध्ये कतिपय राजीनामा दिएर घर गइसकेका छन् भने कतिपयले कानुनी कारबाही भोगेका छन् । बाँकी कैफियतमुक्त ठानिएका अधिकारीहरुका कागजात प्रमाणीकरण गरी जंगी अड्डामा राखिएका छन् । छानबिन भएर टुंगो लागिसकेका विषय उत्खनन् गरेर अहिले सेनामा विवाद निम्त्याउन खोज्नु चियाकपमाथिको तुफानका रुपमा लिइएको छ ।

 यस्तो तुफान सिर्जना गरेर सेना प्रमुखका दाबेदारी नै प्रभावित पार्न खोज्नु निकै बच्कनापनजस्तो देखिन्छ । तसर्थ यस प्रकरणमा प्रधानसेनापति शर्माको भूमिका कस्तो रहन्छ, जंगी अड्डाका उच्च अधिकारीहरूले चासोका साथ हेरिरहेका छन् ।