प्रशासनिक पुनःसंरचना भयो तर राज्यको चरित्र र जीवन पद्धतिको बाँकीः राष्ट्रपति पौडेल

सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको प्रशासनिक पुनःसंरचना गरिए पनि राज्यको चरित्र र जीवनपद्धतिको पुनःसंरचना बाँकी नै रहेको बताएका छन्। गैरआवासीय नेपाली संघको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलन उद्घाटनका क्रममा उनले नेपाल र नेपालीको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने कार्यमा ठोस योगदान गर्न र विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकताबद्ध गर्न गैरआवासीय नेपाली संघले विगतदेखि नै भूमिका खेल्दै आएको बताउँदै आगामी दिनमासमेत नेपालको समग्र विकासमा यसले थप भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 
उनको वक्तव्यको पूर्ण पाठ यसप्रकार छ–

“नेपालीका लागि नेपाली” भन्ने मूल नारा तथा “ज्ञान र रुपान्तरणः समृद्धिको आधार” भन्ने विषयमा केन्द्रित भई आयोजना गरिएको एघारौं गैरआवासीय नेपाली विश्वसम्मेलनको उदघाट्न गर्न पाउँदा खुसी लागेको छ  ।मलाई आमन्त्रण गरेर आफ्ना कुरा राख्ने अवसर दिनुभएकोमा आयोजक समितिलाई धन्यवाद दिन चाहन्छु ।
 

नेपाल र नेपालीको विकास र समृद्धिको आकांक्षा पुरा गर्ने कार्यमा ठोस योगदान गर्न र विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकताबद्ध गर्न गैरआवासीय नेपाली संघले विगतदेखि नै भूमिका खेल्दै आएको छ र आगामी दिनमासमेत नेपालको समग्र विकासमा यसले थप भूमिका निर्वाह गर्नेछ भन्ने मेरो विश्वास छ । विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली नेपाली नै हो ।

शान्त, समृद्ध र समुन्नत नेपाल हेर्न र अनुभूत गर्न चाहनुहुन्छ भन्ने तपाईहरूको व्यवहार र अभिव्यक्तिले स्पष्ट पारेको छ । यही आत्मीयताले देशभित्र र बाहिर बस्ने नेपालीलाई एकताबद्ध गरेको छ भन्ने पनि मलाई लाग्छ । यही पृष्ठभूमिमा आयोजित यो सम्मेलनमा तपाईहरूद्वारा प्रस्तावित छलफलका विषय र उद्देश्यहरू हामी सबैका लागि सान्दर्भिक ठानेको छु ।

राजनीतिक परिवर्तन पश्चात देश आर्थिक विकासको चरणमा प्रवेश गरेको छ । तर, संक्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौतीहरु पनि देखा परेका छन् ।यी चुनौतीको जराबारे मैले सँधै भन्ने गरेको  कुरा तपाइँहरू समक्ष पनि उल्लेख गर्न चाहन्छुः “हामीले राज्यको प्रशासनिक पुनसंरचना  त ग¥यौ, तर राज्यको चरित्र र जीवन पद्दतिको  पुनःसंरचना अझै हुन  बाँकी छ । संघीय लोकतान्त्रिक गणतन्त्रका निश्चित मूल्य मान्यता, सिद्धान्त र दर्शन छन् । जबसम्म ती मूल्य मान्यता, सिद्धान्त र दर्शनलाई हामी आत्मसात गर्न सक्दैनौ तबसम्म ती चुनौतीहरूको सामना गर्न सक्दैनौ ।

म तपाइँहरूलाई नेपालको आर्थिक सम्भावना र तपाइँहरूको सहभागिता सम्बन्धमा केही भन्न चाहन्छु । हामी सबैलाई थाहै भएको कुरा हो कि एकातर्फ नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूवार्धार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना छ भने अर्कातर्फ भारत र चीनजस्ता विश्वकै ठूलो जनसंख्या र बृहत् बजारहरू हाम्रा समीप र पहुँचमा छन् ।

यसबीच नेपालको आन्तरिक उपभोगका साथै क्रयशक्ति समेत दिनानुदिन बढीरहेकै छ । यस्तो अवस्थामा, नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकिकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रित भएको छ । यसका लागि बुहपक्षीय साझेदारीता अत्यावश्यक तत्व हो । त्यसमा तपाईंहरूले आर्जेको पूँजी, ज्ञान, सीप, अनुभव, लगानी र उद्यमशीलता सान्दर्भिक तथा उपयोगी सावित हुन सक्छ । विगतमा तपाईहरूले नेपालका विभिन्न क्षेत्रमा व्यक्तिगत र संगठित रूपमा गर्दै आउनुभएको लगानी नेपालको विकास र समृद्धिमा सहयोगी बनेको छ ।

यस अवसरमा म वैदेशिक रोजगारीको क्रममा विदेशमा रहनुभएका युवाहरूलाई पनि सम्झन चाहन्छु, जसको पसिनाले पठाएको विप्रेषण (आय)ले अहिले देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको छ । भुक्तानी सन्तुलनलाई नेपालको पक्षमा राख्न तथा आन्तरिक आवश्यकता पुरा गर्न तपाइँहरूको आय निःसन्देह नै सहयोगी भएको छ ।

नेपालको लगानीको अपार सम्भावनाको सदुपयोग गर्नुहोस् र तपाईंहरू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरूलाई समेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न म तपाईंहरूलाइ आग्रह गर्न चाहन्छु । नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुनेछ । नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्तैन । त्यसैले नेपाललाई सुशासन विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तराष्ट्रिय जगतमा प्रतिष्ठा बढाउन तपाईंहरूको रणनीतिक भूमिका र दायित्व वाञ्छनीय छ ।

दाजुभाई तथा दिदीबहिनीहरू,
तपाईंहरुप्रति नेपाल सरकारले विभिन्न नीतिगत तथा कानुनी व्यवस्थाहरूको तर्जुमा गरेको छ  । हालैको नागरिकता विधेयक त्यसमध्येको एक हो । नेपालको संविधानले गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेबाट तपाईंहरूलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्नेछ भन्ने मेरो विश्वास छ ।

नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाको दृष्टिकोणबाट पनि वैभवशाली मुलुक हो । यहाँको जातीय, भाषिक, सांस्कृतिक, धार्मिक, जैविक विविधता विश्वकै लागि अनुपम छन । प्रकृति र संस्कृतिको यो अनुपम संगमलाई जोगाउँदै देश र जनताको हित प्रवद्र्धन गर्दै विश्व समुदायमा नेपाल र नेपालीको विशिष्ट पहिचान गराउनु हामी सबैको राष्ट्रिय कर्तव्य हो ।

मेरा भनाईहरूलाई टुंग्याउने क्रममा तपाईहरुको दुई महत्वपूर्ण विषयहरूप्रति ध्यानाकर्षण गराउन चाहन्छु । पहिलो, नेपाल बाहिर रहेर जीवनयापन गर्दै गर्दा आफ्ना सन्तानहरूले आफ्नो भाषा, संस्कृति भुल्ने सम्भावना रहने हुँदा त्यसप्रति तपाईहरू सचेत हुनुपर्दछ । नेपालप्रतिको अपनत्व अभिवृद्धि गर्न र समाजसित अटुट निकटता राख्न नयाँ पुस्तालाई समय समयमा नेपाल ल्याउने  यहाँको संस्कृति, सामाजिक परिवेश तथा भूगोलसँग परिचित गराइरहनुहोला ।

दोस्रो, नेपालको प्राकृतिक सुन्दरता र दुर्लभ स्रोतहरूको सम्बन्धमा हो । नेपालमा विश्वप्रसिद्ध सगरमाथालगायत अग्ला र रमणीय पहाडहरु मात्रै छैनन्, एकातिर यहाँ दुर्लभ जैविक विविधता पाइन्छ भने अर्कोतर्फ  हिउँले भरिएको पहाडहरू पिउने पानीको मुहानको रुपमा परिचित रहेका छन् । तर, दुर्भाग्यवस विश्वव्यापी जलवायु परिवर्तनको दुष्प्रभावले गर्दा हाम्रा मूल्यवान् प्राकृतिक स्रोतहरू संकटमा पर्न थालेका छन् ।  

आजको हाम्रो चुनौती कसरी जैवीक विविधता पर्यावरणलाई सुरक्षित राख्न सकिन्छ भन्ने पनि हो । तसर्थ, यी क्षेत्रहरुमा पनि गैर आवासिय नेपालीले आफ्नो योगदान कसरी पु¥याउन सक्छ त्यो मेरो पनि चासोको विषय हो ।

साथै, नेपालका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल एवम् नेपाली राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रुपमा विकसित गर्ने एउटा योजनातर्फ पनि म तपाईहरुको ध्यान आकर्षित गर्न चाहन्छु ।

अन्त्यमा, “एघारौं गैरआवासीय नेपाली विश्वसम्मेलन, ज्ञान सम्मेलन र युवा तथा महिला सम्मेलनले तपाईंहरूको एकता र सहकार्यलाई थप सुदृढ र मजबुत बनाउनेछ, नेपालसँगको सम्बन्ध अझ विस्तार गर्नेछ, नेपालको विकास र समृद्धिको बाटोमा तपाईहरूको रणनीतिक सझेदारीलाई थप स्पष्ट र विस्तारित गराउनेछ भन्ने विश्वास गर्दे यस विश्व सम्मेलनको उपलब्धीपूर्ण सफलताको कामना गर्दछु ।
जय नेपाल !
३० असोज २०८० (१७ अक्टोबर २०२३)