कोसीमा गठबन्धनले पनि कार्कीलाई विश्वासको मत दिने, सरकारबाटै बाहिरिने एमालेको चेतावनी

सुन्नुहोस्

यो समाचार बर्णन मिडियाका प्रधान सम्पदक तथ संचालक नारायण प्रसाद दाहाल ज्युले लेख्नु भएको हो।
 

काठमाडौँ । विश्वासको मत प्राप्त गर्न नसकी एक वर्षमै चारवटा सरकार धरापमा परिसकेको कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई भने आवश्यकताभन्दा बढी मत जुट्ने भएको छ । कांग्रेसका ८ जना सांसद र एमालेको साथ लिएर मुख्यमन्त्री पदमा दाबी गरेका कार्कीका पक्षमा एमाले मात्र होइन, केन्द्रमा सरकार चलाइरहेको सिंगो गठबन्धन नै तयार भइसकेको छ ।

प्रदेश सभाको स्थायित्व र केन्द्रीय गठबन्धनको मर्मअनुसार विश्वासको मत दिने माओवादी नेताहरुको भनाइ छ । यसमा गठबन्धनका सबै घटकहरु एक ठाउँमा रहेका छन् । विश्वासको मत पाए पनि त्यो कसरी टिकाउने भन्नेचाहिँ मुख्यमन्त्री कार्कीका लागि चुनौतीपूर्ण बनेको छ । 

केन्द्रीय सत्ता गठबन्धनका नेताहरु कोशी सरकारबाट फेरि पनि एमालेलाई बाहिर पारेर साविककै संरचना ब्युँताउने कसरतमा छन् । तर, कांग्रेसबाहेक साविक गठबन्धनका कुनै पनि घटकलाई सरकारमा सामेल गराउने कुरा आए आफूले साथ नदिने एमालेले स्पष्ट पारेको छ । सर्वदलीय सरकार वा कुनै पनि नाममा गठबन्धनलाई सत्तामा हावी गराउने कुरा मान्य नहुने एमाले नेताहरुले चेतावनी नै दिएका छन् ।

कार्की कांग्रेसमा शेखर कोइरालानिकट नेता हुन् । कोइरालाले शनिबारै गठबन्धनप्रति पूर्ववत्रुपमा प्रतिबद्ध रहेको भनी बालुवाटारमा एक बुँदे चिर्कटो सहमति नै गरेका थिए । तर, त्यसको भोलिपल्ट कार्कीले एमालेलाई समेत सरकारमा सामेल गरेर चिर्कटो सहमतिलाई औचित्यहीन तुल्याइदिएका थिए । बालुवाटारका कुनै सहमति वा निर्देशन नमान्ने स्पष्ट जनाउ उनले दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल तनावग्रस्त छन् ।

कांग्रेसमा संस्थापन खेमा मात्र होइन, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत कार्कीको विद्रोहलाई साथ दिएनन् । संस्थापनइतर खेमाका प्रभावशाली नेताको साथ नपाउँदा कतै कोइरालालाई एक्ल्याउँदै पार्टीमा अप्ठ्यारो अवस्थामा पु¥याइने पो हो कि भनेर विद्रोही खेमामा अवश्य पनि चिसो पसेको छ ।

गत वर्ष एमालेको सहयोगमा सत्ताको सिँढी चढेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले ढोक्सा थापेको आरोप लगाएका थिए । नभन्दै माओवादीले एमालेको साथ छाडेर कांग्रेसतिर लहसिएको थियो । अहिले पनि केन्द्रीय गठबन्धनले कार्कीलाई विश्वासको मत दिने कुराले एमालेलाई त्यस्तै चिन्ता थपेको छ ।
 

कांग्रेस सिंगो आउँछ भने ठीकै छ तर त्यसबाहेकका घटकलाई पनि सरकारमा सामेल गराउने कुरामा सहमत हुन नसकिने एमालेको अडान छ । केन्द्रीय गठबन्धन लागू गर्न खोजिए सरकारबाट बाहिरिने चेतावनी एमालेले कार्कीलाई दिएको छ ।

यस विषयमा छलफल गर्न मंगलबार एमालेले मुख्यमन्त्री कार्कीसँग समय माग गरेको थियो । तर केदार कार्कीले समयाभाव दर्शाउँदै भेट गर्न नै अस्वीकार गरे । गत शनिबार एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्की शपथ समेत नलिई एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कृतज्ञता भेट गर्न पुगेका थिए । तिनै कार्कीले हिजो एमालेले विश्वासको मत लिने तयारी र  सत्ता साझेदारीबारे छलफल गर्न खोज्दा भेटका लागि समय नै नदिनु आश्चर्यजनक छ ।

त्यसो त मुख्यमन्त्री कार्कीसँग शक्ति साझेदारी र सरकार सञ्चालनका विषयमा आधारभूत छलफल र समझदारी सोमबारमंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको थियो । ९ मन्त्रालयमध्ये एमालेलाई ५ र कांग्रेसलाई ४ हुनुपर्ने एमालेको प्रस्ताव छ। त्यसमा कार्कीले फरक मत राखेका छैनन्।

कोशीको गणित यति पेचिलो भइसकेको छ कि केन्द्रीय सत्ता गठबन्धन नै लागू गर्न खोजे पनि अब त्यसले सरकार वा प्रदेश सभा टिकाउने सामर्थ्य राख्दैन। एमालेको सहयोग वा सहभागिताबिना सरकार बन्न र टिक्न मुस्किल छ। 

एमालेले साथ छाडेर पुनः साविककै गठबन्धनमा फर्किने हो भने कार्की सरकारसँगै प्रदेश सभा पनि संकटमा पर्छ। त्यसपछि मध्यावधि निर्वाचनमा जानुपर्ने हुन्छ । यसकारण एमालेको  साथ छाडेर गठबन्धनको छाता रोज्न कार्कीलाई सहज र सुरक्षित छैन ।