ज्येष्ठ नागरिकप्रतिको दायित्व बिर्सनु हुँदैन : मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकका लागि विशेष कार्यक्रम समावेश हुने जानकारी दिनुभएको छ । समाज कल्याण परिषद्अन्तर्गतको राष्ट्रिय ज्येष्ठ नागरिक कोषद्वारा आज आयोजित क्यालेन्डर विमोचन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले  सन्तानको कमाईको १० प्रतिशत आफ्ना आमाबुबाका निम्ति छुट्याउने व्यवस्था गरिएको बताउनुभयो । 

     “आफ्ना सन्तानले जति कमाई गर्छ त्यसको १० प्रतिशत आमाबुबाका निम्ति खर्च गर्नैपर्ने ऐनमा व्यवस्था गरिएको छ । ऐन आएको छ अब यसलाई कार्यविधि बनाएर स्थानीय तहसम्म पठाउनुपर्नेछ । त्यसका निम्ति हामीले तयारी गरिरहेका छौँ”, मन्त्री चौधरीले भन्नुभयो, “ज्येष्ठ नागरिक हाम्रा पुजनीय, आदरणीय व्यक्तित्व हुनुहुन्छ । हामी कसैले पनि उहाँहरूलाई बिर्सन हुँदैन ।” परिवार, समाज, आफन्त र सन्तानबाट अपहेलित, पीडित ज्येष्ठ नागरिकका लागि राज्यले सधैँ अभिभावकत्व ग्रहण गर्ने मन्त्री चौधरीले बताउनुभयो । 

कोषका सभापति वसन्तराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले आगामी आर्थिक वर्षमा ज्येष्ठ नागरिकका निम्ति केही नयाँ कार्यक्रम ल्याइने र ज्येष्ठ नागरिक सम्मानलाई निरन्तरता दिइने बताउनुभयो । सो अवसरमा कार्यक्रममा शताब्दी पुरुष डा गौरीशङ्करलाल श्रेष्ठले मन्त्री चौधरीलाई सम्मान गर्नुभएको थियो ।  ज्येष्ठ नागरिकको सेवामा समर्पित अगुवा मदन श्रेष्ठ, अहल्या श्रेष्ठ, भरतलाल श्रेष्ठ, श्यामसुन्दर श्रेष्ठ, रञ्जना श्रेष्ठ, विष्णुप्रसाद नेपाल र फोटो पत्रकार श्याम चित्रकारलाई सम्मान गरिइएको थियो ।