प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दै

विराटनगर प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेश १ को प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । माघ ७ गते प्रदेशसभामा प्रदेश प्रमुखले पठाएको पत्र पढेर स्थगित भएको प्रदेशसभा माघ २५ गते बसेको थियो ।

हिउँदे अधिवेशनको दोस्रो प्रदेशसभाको बैठक नेकपाको ओली समूहका सांसदले अवरोध गरेपछि फागुन ९ लाई बोलाइएको हो । आजको बैठक पनि अवरुद्ध हुने सङ्केत देखिएको छ ।आजको प्रदेशसभा बैठकमा नेकपाको ओली पक्षका सांसदहरुले बैठक अवरुद्ध गर्ने सम्भावना छ भने ओली समूहबाहेकका सांसदहरु जसरी हुन्छ अविश्वासको प्रस्ताव बैठकमा टेबल गर्नुपर्ने पक्षमा रहेका छन् ।

९३ जना सांसद रहेको प्रदेश १ मा नेकपाका ६७ सांसद छन् भने कांग्रेसका २१ सांसद छन् । १२ पुसमा नेकपा प्रचण्ड–माधव समूहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । राईका पक्षमा २१ जना संसद मात्र प्रष्ट रूपमा खुलेका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफूविरुद्धको अविश्वास प्रस्तावको पक्षमा कांग्रेस उभिए प्रदेशसभा विघटन गर्ने तयारीमा छन् ।