एमालेको बागमतीमा नयाँ नेतृत्वका लागि दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा हुने

काठमाडाैँ।नेकपा एमालेको बागमती प्रदेशमा अन्ततः चुनाव हुने भएको छ । यसअघि अध्यक्षका लागि चार जना आकांक्षि हुँदा निर्वाचन कार्यतालिका संशोधन गरेर एक दिन लम्ब्याइए पनि शुक्रबार भने चुनाव हुने भएको हो । अध्यक्षमा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

वर्तमान अध्यक्ष केशव पाण्डे र अध्यक्षका प्रतिस्पर्धी सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

निर्वाचन मण्डलले शुक्रबार बिहान ८ बजेदेखि मतदान गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ।

बिहीबार उम्मेदवारी फिर्ता लिएका श्रेष्ठ र बुढाथोकीले अध्यक्षका लागि ढुंगेललाई सघाउने भएका छन्। उता अर्का नेता पाण्डेले भने कसलाई सघाउने निर्णय गरी नसकेको बताए ।

अध्यक्ष केपी ओलीले भने बागमतीमा पनि सहमतिकै आधारमा नेतृत्व चयन गर्न भनेका थिए । मुलुक संघीयतामा गएपछि एमालेले पहिलो पटक प्रदेशमा अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दैछ । यसअघि लुम्बिनीमा चुनावबाटै नेतृत्व चयन भएको छ ।

चुनावबाट नेतृत्व चयन हुँदा गुट बढ्न सक्ने भएकाले ओलीले सातै प्रदेशमा सहमतिमै नयाँ नेतृत्व चयनका लागि जोडबल गरेका थिए । तर, उनको जोडबलले काम गरिरहेको छैन । बागमती र लुम्बिनी मात्र होइन अरु प्रदेशमा पनि नयाँ नेतृत्वका लागि चुनाव हुने निश्चित छ । त्यति मात्र होइन, प्यानलगत चुनाव भइरहेकाले अब ओलीपछि एमालेमा ककसको गुट बन्छ भनेर पनि अधिवेशनको नतिजाले देखाउनेछ ।

ओलीले अहिले भन्ने गरेकाा छन्, ‘सकेसम्म सर्वसम्मतता नेतृत्व चयन गर्नुहोस्। यदि त्यसो हुन सकेन भने पनि नेतृत्वको कुरा सुनेर बिना प्यानल चुनाव लड्नुहोस् ।’