माओवादी र नागरिक उन्मुक्तिले विश्वासको मत नदिए सुदूरपश्चिम सरकार फेरि ढल्ने

काठमाडाैँ। कांग्रेस नेता कमलबहादुर शाहको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ । यसअघि एमाले नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा रहेको सरकार विश्वासको मत नपाएर एक महिनामै ढलेको थियो, नागरिक उन्मुक्ति पार्टी गयल भइदिँदा सरकार ढलेको थियो । लगत्तै पहिलो दलको हैसियतमा शाह मुख्यमन्त्री बनेका थिए ।

उनी आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । तर, उनले विश्वासको मत पाउने, नपाउने यकीन छैन । केन्द्रमा राष्ट्रपति निर्वाचनमा समीकरण फेरिएसँगै शाह विश्वासको मत पाउनेमा ढुक्क छन् । कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई माओवादीसहित आठ दलको समर्थन छ । यही आधारमा अब केन्द्र र प्रदेश सरकार पनि हेरफेर हुनेछन्, किनकी एमाले प्रतिपक्ष भइसकेको छ ।

तर, सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी गरेको माओवादी केन्द्रले भने यथास्थितिमा विश्वासको विश्वासको मत नदिने बताएको छ ।मुख्यमन्त्री शाहलाई भेटेर फर्किएपछि यथास्थितिमा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले बताए । यसअघिको सहमति अनुसार माओवादी केन्द्रले मुख्यमन्त्री पाउनुपर्ने उनको माग छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री माओवादीलाई दिने बताएको उनको भनाइ छ ।

माओवादीले अहिले माओवादीलाई नेतृत्व दिन कांग्रेसलाई आग्रह गरेको छ । तर, कांग्रेसले भने पाँच वर्षीय कार्यकाल आलोपालो गरेर जाने बताइरहेको छ । माओवादी नेताहरु भने जसरी पनि आफ्नो पार्टीले मुख्यमन्त्री पाउनुपर्ने बताइरहेका छन् ।

यता, रेशम चौधरीको रिहाइको माग गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले भने लिखित सहमति मागेको छ । अध्यक्ष रन्जिता श्रेष्ठले अहिलेकै अवस्थामा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसकिने बताइन् । दलीय सहमतिको लिखित हस्ताक्षरबिना विश्वासको मत दिन नसकिने उनले बताइन् ।

तर, यसअघि रेशमको रिहाइको माग गर्दै आएको यो दलले पनि केन्द्रमा उपप्रधानसहित राज्यमन्त्री र सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गरेको छ । यसबाहेक लुम्बिनी र मधेस प्रदेशमा पनि मन्त्री मागेको छ । श्रेष्ठले कुन विषयलाई लिखित सहमतिको माग गरेकी हुन् अझै खुल्न सकेको छैन ।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको आवश्यकता पर्छ ।कांग्रेसका १९, माओवादीका ११ (सभामुखसहित), नागरिक उन्मुक्तिका ७ र एकीकृत समाजवादीका ४ सहित ४१ सांसद नयाँ गठबन्धनसँग छन्। प्रदेश सभामा नेकपा एमालेका १० (उपसभामुखसहित), राप्रपा र स्वतन्त्र १-१ सांसद छन्।