सुदूरपश्चिम प्रदेशसभा बैठक १ बजे बस्दै

काठमाडौं । आज बिहान ११ बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक सरेको छ । आज दिउँसो १ बजेसम्मका लागि बैठक सारिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री रावललाई आज नेकपा माओवादी केन्द्रका १०, नेकपा एमालेका ९, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदले विश्वासको मत दिए भने मात्र यो सरकारले निरन्तरता पाउँछ ।

प्रतिपक्षमा नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ३ र स्वतन्त्र १ जना सांसद छन् । सुदूरपश्चिम सरकार गठनमा मुख्यमन्त्री रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले भने मुख्यमन्त्रीलाई आज विश्वासको मत नदिने बताएको छ ।

नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरीसहित टीकापुर घटनामा जेलमा रहेकाहरूलाई रिहाइ गर्नुपर्ने माग गरिरहेको छ। नागरिक उन्मुक्ति पार्टीले आफूहरूका माग पूरा नभएसम्म सरकारमा नजाने पनि बताइरहेको छ।