नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी संकटमा
भारतीय चिया बोर्डले लागू गरेको नयाँ गुणस्तर परीक्षण मापदण्डका कारण नेपाली चिया निर्यात ठप्प बनेपछि इलाम र झापाका ८३ चिया उद्योग बन्द हुने भएका छन्। उद्योगीहरूले निर्यातमा देखिएको अवरोध तत्काल हटाउन नेपाल सरकारमार्फत कूटनीतिक पहलको माग गरेका छन्।
इलामको सूर्योदय नगरपालिकास्थित ५३ वटा चिया उद्योगले सोमबारदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन् भने झापाका ३० उद्योगले असार ४ गतेदेखि उद्योग बन्द गर्ने निर्णय गरेका छन्। भारतीय बजारमा पुगिसकेको तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको उद्योगीहरूको भनाइ छ। त्यस्तै उद्योगहरूमा थप सात लाख किलोभन्दा बढी तयारी चिया मौज्दात रहेको बताइएको छ।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठका अनुसार उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन नै असम्भव बन्दै गएको छ। किसानबाट खरिद गरिएको हरियो चियापत्ती प्रशोधन गरेर तयार पारिएको चिया गोदाममै थन्किएको र किसानलाई भुक्तानी गर्नसमेत कठिन भएको उनले बताए।
भारतीय चिया बोर्डले मे १ देखि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) अनुसार नेपालबाट निर्यात हुने प्रत्येक खेपको चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ। उद्योगीहरूका अनुसार परीक्षण प्रतिवेदन आउन दुई साताभन्दा बढी समय लाग्ने, प्रतिवेदन नआउञ्जेल बिक्री गर्न नपाइने र नमुना असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने व्यवस्था अत्यन्त अव्यावहारिक छ।
उद्योगीहरूले यसलाई नेपाली चियामाथिको गैरभन्सार अवरोधको रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार विगतमा पनि विभिन्न बहानामा अवरोध सिर्जना हुँदै आएको भए पनि यसपटक बजारमा पुगिसकेको चियासमेत बिक्री गर्न नपाउने अवस्था बनाइएको छ।
उद्योग बन्द भएसँगै हजारौं किसान र श्रमिक प्रत्यक्ष प्रभावित हुने भएका छन्। सूर्योदय नगरपालिकामा मात्रै झण्डै ३ हजार किसान चिया खेतीमा आबद्ध छन्। झापामा २० हजारभन्दा बढी किसान तथा श्रमिक चिया क्षेत्रमा निर्भर छन्। देशभर नेपाली चिया उद्योगमा करिब ५० हजार किसान र श्रमिक प्रत्यक्ष रूपमा संलग्न रहेको तथ्यांक छ।
नेपालबाट वार्षिक ७० लाख किलोभन्दा बढी अर्थोडक्स चिया निर्यात हुने गरेको छ, जसको ९० प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजारमा निर्भर छ। नेपालले हरेक वर्ष करिब सवा ४ अर्ब रुपैयाँ बराबरको चिया निर्यात गर्दै आएको छ।
यसैबीच इलामका सांसद Suhang Nembang ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय, उद्योग मन्त्रालय, कृषि मन्त्रालय तथा नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत उच्चस्तरीय कूटनीतिक पहल गर्न आग्रह गरेका छन्। उनले चियाको शीघ्र परीक्षण, नेपाली प्रयोगशालाको प्रमाणपत्रलाई भारतले मान्यता दिने व्यवस्था तथा प्रभावित उद्योगलाई सहुलियतपूर्ण चालु पुँजी उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।
उद्योगी, किसान र स्थानीय जनप्रतिनिधिहरूले चिया संकटलाई इलाम वा झापाको मात्र नभई राष्ट्रिय अर्थतन्त्र, रोजगारी, निर्यात र विदेशी मुद्रा आर्जनसँग जोडिएको गम्भीर विषयका रूपमा लिन सरकारसँग माग गरेका छन्।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया