ब्राजिलमा दुई हेलिकप्टर ठोकिँदा भयानक दुर्घटना: अमेरिकी गायक ओलिभर ट्री र युट्युबर ग्यास्पीसहित ६ जनाको मृत्यु

रियो दि जेनेरियो — ब्राजिलमा दुई हेलिकप्टर आपसमा ठोक्किदा छ जनाको मृत्यु भएको छ । जसमा एक अमेरिकी अल्टरनेटिभ पप सिंगर ओलिभर ट्री पनि छन् । र्‍यापर, कमेडियनदेखि फिल्मकर्मीसम्मको परिचय बनाएका ३२ वर्षीय ओलिभर विश्व भ्रमणमा थिए । आइतबार उनी यात्रा गरिरहेको एक हेलिकप्टर रियो दि जेनेरियोमा अर्को हेलिकप्टरसँग ठोकिएर दुर्घटनाग्रस्त भएको हो ।

ब्राजिलका सञ्चारमाध्यमले प्रसारण गरेको दूर्घटनाको फुटेजमा आकाशबाट एउटा हेलिकप्टर खसेको र दुर्घटनास्थलबाट आगोसँगै बाक्लो धुवाँको मुस्लो निस्किरहेको देखिएको थियो । हेलिकप्टर आपसमा के कारणले ठोक्किन पुगे भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ । रियो दि जेनेरियो राज्यको सैन्य अग्नि नियन्त्रण विभागले स्थानीय समय अनुसार बिहान ९ बजे दुर्घटना बारेमा जानकारी आएको बताएको छ ।

१९९३ मा क्यालिफोर्नियाको सान्टा क्रुजमा जन्मेका ट्री २०१६ यता सामाजिक सञ्जालमा भाइरल व्यक्ति हुन् । विशिष्ट शैलीको कपाल कै कारण पनि बढि चिनिएका ओलिभरले ‘लाइफ गोज अन’, ‘मिस यु’ र ‘एलियन ब्वाय’ जस्ता हिट गीतहरू दिईसकेका छन् । यतिबेला विश्व भ्रमणमा रहेका उनको ६ जुनमा ब्राजिलको साओ पाउलोमा कार्यक्रम थियो ।