अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच जारी युद्ध अन्त्यका लागि आइतबार ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुने दाबी गरेका छन् । यद्यपि, इरानले भने सम्झौताको समयलाई लिएर सावधानी र सन्देह व्यक्त गरेको छ ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सम्झौता लगत्तै विश्वको प्रमुख व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ सबैका लागि खुला हुने जानकारी दिएका छन् । उनले इरानको संवर्द्धित युरेनियम (न्युक्लियर डस्ट) लाई उपयुक्त समयमा नियन्त्रणमा लिएर नष्ट गरिने समेत बताएका छन् । ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘यदि कुराहरू छिटो र सहज रूपमा अघि बढेनन् भने वासिङ्टनसँग अन्तिम विकल्प तयार छ, जुन आशा छ फेरि कहिल्यै प्रयोग गर्नु पर्ने छैन ।’
ट्रम्पको दाबी विपरीत इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले हस्ताक्षरको मितिलाई लिएर सावधानी व्यक्त गरेका छन् । उनले सम्झौता आइतबार नै नहुने संकेत गर्दै निश्चित मितिका लागि प्रतीक्षा गर्नुपर्ने बताएका छन् ।
अर्कोतर्फ, मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले २४ घण्टाभित्र सम्झौता टुङ्गिने अपेक्षा गरिएको बताएका छन्। उनले पाकिस्तानले ‘इलेक्ट्रोनिक हस्ताक्षर’का लागि तयारी गरिरहेको र अर्को हप्ता प्राविधिक तहमा छलफल हुने जानकारी दिएका छन् ।
इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्चीका अनुसार यो सम्झौतामा लेबनानमा इजरायल र हिजबुल्लाहबीचको द्वन्द्व अन्त्य गर्ने विषय समेत समेटिएको छ । सम्झौतामा हर्मुज स्ट्रेट पुनः सञ्चालन गर्ने र इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दी हटाउने उल्लेख छ। यद्यपि, इरानको परमाणु कार्यक्रमबारे वार्ता भने पछिल्लो चरणमा मात्र सुरु हुने बताइएको छ ।
अमेरिकी अधिकारीहरूले इरानले पाउने आर्थिक लाभहरू तेहरानले आफ्ना प्रतिबद्धताहरू पूरा गरेमा मात्र निर्भर रहने स्पष्ट पारेका छन् ।गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणबाट यो युद्ध सुरु भएको थियो । त्यसपछि इरानले पनि इजरायल र खाडीका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि आक्रमण गर्नुका साथै विश्वकै तेल र ग्यास ढुवानीको मुख्य मार्ग हर्मुज स्ट्रेट बन्द गरेको थियो । गत अप्रिलमा युद्धविरामको सहमति भए पनि दुवै पक्षबिच आक्रमणहरू जारी थिए ।
गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर
रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण
भारतीय वायु सेना विमान दुर्घटना: पाइलटसहित ५ जनाको मृत्यु
निकासी आदेश पछि लेवनानमा इजरायली आक्रमण
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
सत्तापक्ष र प्रतिपक्षको एकस्वर : प्रधानमन्त्रीले अक्षम्य बोले, खेद प्रस्ताव पारित गर…
मन्त्रिपरिषदको कार्यालय भन्छ : जेनजी आन्दोलनमा सवै कागजात जलेर खरानी भयो, रे…
प्रतिक्रिया