सुधन गुरुङको सेयरमा स्रोत लगानी भेटियो, भेटिएन दीपक भट्टसँगको कारोबार !
काठमाडौं । तत्कालीन गृहमन्त्री सुधन गुरूङ सम्पत्ति सार्वजनिक भएसँगै उनीमाथि चारैतिर प्रश्न उब्जियो । सँगै गुरुङ गृहमन्त्रीबाट राजीनामा दिन बाध्य भए ।
अझ उनका सेयर लगानीको स्रोतमा प्रश्न उठेपछि सरकारले छानबिन समिति बनायो । सरकार गठित समितिले गुरुङसँग भएका सम्पत्तिको स्रोत वैध उल्लेख गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई प्रतिवेदन बुझाएको छ ।
समितिले गुरुङको जायजेथा, सम्पत्तिको स्रोत, सेयर लगानी, बैंक मौज्दात, ऋण, रेमिट्यान्सलगायतमा ‘स्रोत देखिएको’ तथ्य उल्लेख गरी प्रतिवेदन बुझाएको छ ।
तर, गुरुङको सम्पत्ति सरकारगठित समितिबाट नभइ संसदीय समितिबाट हुनुपर्ने माग प्रारम्भबाटै उठेको थियो । प्रतिनिधिसभा सदस्य हुँदा गुरूङका सम्बन्धमा संसदीय छानबिनको माग उठेको हो ।
सार्वजनिक रूपमा उठेका विषयमा सत्य/तथ्य छानबिन गर्न संसदीय समिति नबनाइकन सरकारी तहमै समिति गठन गएिपछि उसको निष्पक्षतालाई राजनीतिक तहमा सन्देह पैदा भएको थियो ।
स्रोतका अनुसार, छानबिनका क्रममा प्रतिवेदनमा ‘हामी नेपाल’ नामक संस्थाबाट भएका आर्थिक गतिविधि पनि हेरिएको थियो । छानबिनमा बिचौलिया भनिएका दीपक भट्टसँगको आर्थिक कारोबार समेत फेला नपरेको पनि प्रतिवेदनमा खुलाइएको छ ।
‘‘जे/जति सम्पत्ति देखिएको छ, ती सबैको स्रोत देखियो । दीपक भट्टको कम्पनीमा शेयर रहेको भन्ने देखिएन,’’ सरकार निकट स्रोतले बाह्रखरीसँग भन्यो, ‘‘सबै चिज क्लिन देखिएको भन्ने प्रतिवेदन ठहर छ । सबै शेयर, सम्पत्ति मगाएर सिरियस अध्ययन गर्दा आरोप पुष्टी हुने केही भेटिएन ।’’
समितिले गुरुङको चल/अचल सबै सम्पत्ति ‘वैध’ ठहर्याएको छ । कुन कुन स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने विषयमा फरक–फरक बुँदामा राखिएको छ ।
स्रोतका अनुसार, गुरुङको सम्पत्तिको स्रोतलाई ‘अस्वाभाविक’ भन्न नमिल्ने निस्कर्ष निकालिएको छ । विवादमा मुछिएका व्यवसायी भट्टसँग गुरुङको प्रत्यक्ष सम्बन्ध पुष्टि हुने आधार देखिएन ।
‘‘दुई जनाबीच बैंकिङ विवरणबाट सम्बन्ध रहेको देखिँदैन,’’ आयोग स्रोतले भन्यो । गुरुङको अपार्टमेन्ट र गाडीका विषयमा पनि अध्ययन गरिएको जनाएको छ । रेमिट्यान्सबारे पनि गुरुङ र उनका नातेदारबारे बुझेर हेरिएको थियो ।
समिति अध्यक्ष भण्डारी भन्छन्– प्रमाणको भार जता छ, त्यतै राय छ
समिति अध्यक्ष रहेका पूर्वन्यायाधीश अच्युत भण्डारीले प्रतिवेदनमा गुरुङमाथि थप छानबिन गर्न केही नभनिएको जानकारी दिए । उनले प्रमाणको भारअनुरुप प्रतिवेदनमा राय दिएको जानकारी दिए ।
भण्डारीका अनुसार, छानबिन गर्न जग्गाको सम्बन्धमा भूमिसुधार र मालपोत कार्यालयबाट विवरण झिकाइएको थियो । गाडीको सन्दर्भमा यातायात कार्यालयबाट विवरण मागिएको थियो । सेयरको सन्दर्भमा ब्रोकरबाट पनि विवरण झिकाइएको थियो । आर्थिक विवरण बैंक र कम्पनी रजिष्ट्रार कार्यालयबाट झिकाएर जाँच भएको थियो ।
‘‘मिडियामा आएका जे/जति आरोप थिए, सुन, सेयर, बाउ/बाजेका सम्पत्ति केलाएर हेरेका छौँ,’’ भण्डारीले बाह्रखरीसँग भने ।
उनका अनुसार, ४३ पेजको प्रतिवेदनमा थप छानबिनका लागि केही भनिएको छैन । कार्यादेशभित्र रहेर ‘वान बाई वान’ गरेर तथ्य राखिएको छ ।
उनले भने, ‘‘हाम्रो व्याख्या केही छैन । एउटा कुरा भन्छु– जता प्रमाणको भार छ, त्यतै राय छ । सपथ खाएको हुँदा सबै कुरा खोल्न मिलेन ।’’
समितिले निर्वाचन आयोग र मन्त्रिपरिषदमा बुझाएको सबै प्रतिवेदन झिकाएर केलाएको पनि भण्डारीले जानकारी दिए । गुरुङलाई ऋण दिने व्यक्ति पनि आयोगमा डाकेर बुझिएको थियो ।
उनले भने, ‘‘नेपालभरको भूमि प्रशासन कार्यालयबाट रिपोर्ट लिएका हौँ । चिट्ठीमा जे लेखेर आएको छ, त्यहीअनुसार राखिदिएका छौँ । निस्कर्षमा यो प्रमाणले यो भन्छ, यसमा यो छ भनी ‘सिरिज बाई’ राखिदिएका छौँ ।’’
समितिले गुरुङको विदेशबाट आएको पैसाबारे पनि समितिले अध्ययन गरेको थियो । विदेशबाट आएको पैसाबारे पनि बैंकबाट विवरण पनि झिकाएर हेरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । ‘‘कम्तीमा प्रमाण मात्र डेढ सय पेजको संकलन भएको होला,’’ उनले भने ।
हङकङविरुद्धको खेलमा दीपेन्द्र सिंह ऐरीको नयाँ कीर्तिमान
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश सपना प्रधान मल्ल
फिलिपिन्समा शक्तिशाली भूकम्प, जापानसम्म सुनामीको चेतावनी
एसियाली खेलकुद छनोटको फाइनलमा हङकङसँग भिड्दै नेपाल
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
विश्वकप अघि इङ्ग्ल्याण्ड फुटबल टोलीको प्रशिक्षण केन्द्र नजिकै अन्धाधुन्ध गोली प्रहार
२० दिन विदा बसेर काममा फर्किइन न्यायाधीस मल्ल
प्रतिक्रिया