रसुवा प्रहरीले १९ लाख ५२ हजार १०० रुपैयाँ नगदसहित एक जना हुण्डी कारोबारीलाई पक्राउ

रसुवा प्रहरीले १९ लाख ५२ हजार १०० रुपैयाँ नगदसहित एक जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चे बजारमा सवारी साधन तथा यात्रुको नियमित चेकजाँचका क्रममा उक्त रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

शनिवार अस्थायी प्रहरी पोष्ट धुन्चेबाट खटिएको प्रहरी टोलीले काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४८७० नम्बरको सुमो गाडी रोकी जाँच गर्ने क्रममा गाडीमा सवार गोसाइँकुण्ड गाउँपालिका–३ का ३५ वर्षीय मिङमार छिरिङ गुरुङको साथबाट ठूलो परिमाणमा नगद बरामद गरेको थियो।

प्रहरीका अनुसार गुरुङले बोकेको झोलाभित्र एक हजार दरका १ हजार ८७५ थान, पाँच सय दरका २१३ थान र एक सय दरका ६० थान नोट फेला परेको थियो। बरामद रकमको कुल मूल्य १९ लाख ५२ हजार १०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद रकमको वैध स्रोत पुष्टि गर्न नसकेको र हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा गुरुङलाई नगदसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धानका लागि रसुवा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।