सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय

सरकारका कामकारबाहीमाथि प्रभावकारी निगरानी बढाउने तथा संसद्‌मा आफ्नो भूमिकालाई थप सशक्त बनाउने उद्देश्यसहित नेपाली कांग्रेसले जिम्मेवारी तोकेका विभागीय मन्त्रालयगत संयोजकहरूको बैठक आइतबार बसेको छ। 

संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मन्त्रालयगत संयोजकको जिम्मेवारी पाएका सांसदहरूले सरकारका गतिविधि, मन्त्रालयहरूको कार्यसम्पादन तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूबारे धारणा राखेका थिए।

बैठकमा मन्त्रिपरिषद्को निर्णय तथा सरकारका कामकारबाहीको नियमित निगरानी गर्ने, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्ने तथा संसद्‌मा प्रभावकारी ढङ्गले विषय उठाउने विषयमा छलफल भएको थियो। 

साथै राष्ट्रिय महत्वका मुद्दामा पार्टीको धारणा निर्माण गर्न सुझाव दिने, जनताका गुनासा तथा समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍याउने र सरकारलाई जवाफदेही बनाउन सक्रिय भूमिका खेल्ने निर्णय पनि भएको छ । 

यसबाहेक बैठकले मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठक प्रत्येक महिना कम्तीमा एक पटक अनिवार्य रूपमा बस्ने निर्णय गरेको छ। आवश्यकता र परिस्थितिअनुसार जुनसुकै समयमा पनि बैठक बोलाउन सकिने जनाएको छ। 

सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले मन्त्रालयगत संयोजकहरूको सक्रियता बढाएर सरकारको कामको प्रभावकारी अनुगमन गर्दै संसद्‌मा रचनात्मक तथा सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने रणनीति बनाएको छ।