कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान

 सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको छ । नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका हुन् । 

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सोमबार बिहान साढे ९ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुखले प्रमुख सचेतकहरूको बैठक बोलाएको जानकारी दिए 

अहिलेसम्म प्रतिनिधिसभा प्रतिनिधिसभा नियमावली २०७९ बाट चलिरहेको थियो । जेठ १७ गते विपक्षी दलहरूको बेल घेराउबिच सत्तारुढ दलको बहुमतबाट प्रतिनिधि सभा नियमावली २०८३ पारित भएको थियो । त्यसपछि विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्यव्यवस्था परामर्श समिति बन्न सकेको छैन । 

विपक्षी दलहरूले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको छ भन्दै दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र सदनमा आएर माफी माग्नुपर्ने माग राख्दै सदनमा अवरोध गर्दै आएका छन् । 

जेठ १९ गतेपछि प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेका लागि आह्वान भएको छ ।