महानगरद्वारा चक्रपथमा विद्युतीय बस सेवा विस्तार
काठमाडौँ, २१ जेठः महानगर यातायात प्रालिले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकाको चक्रपथमा बुधबारदेखि सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ ।
विद्युतीय बस सञ्चालन खर्च कम र प्राविधिक सरल भएकाले डिजेल बसको तुलनामा राम्रो आम्दानी भइरहेको बताइएको छ । अत्याधुनिक सुविधा समावेश गरिएका आरामदायी सिटको व्यवस्था गरिएको नयाँ विद्युतीय बसहरू ३३ सिट क्षमताका छन् । यात्रु सुरक्षाका आधुनिक प्रणाली तथा व्यवस्थित संरचनाका कारण बसहरू सुविधा सम्पन्न छन् ।
शशिला मोटर्स प्रालिले चीनबाट आयात गरेको यी बसहरूमा १४४ किलोवाट क्षमताको सिएटिएल ब्याट्री जडान गरिएको बसको एक पटक पूर्ण चार्ज गरेपछि करिब २०० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता छ । प्रत्येक बसको मूल्य रु एक करोड ३१ लाख ९० हजार रहेको कम्पनीले जनाएको छ ।
सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले विद्युतीय सवारीसाधनको विकल्प अब अनिवार्य बन्दै गएको बताउँदै कम्पनीले यस क्षेत्रमा थप लगानी विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । प्रारम्भिक लगानी उच्च भए पनि विद्युतीय बस व्यावसायिक रूपमा उपयुक्त रहेको र आम्दानीका हिसाबले पनि प्रभावकारी रहेको उहाँले बताउनुभयो ।
महानगर यातायात प्रालिका सञ्चालक समिति सदस्य धर्मराज रिमालले यसअघि १२ विद्युतीय बस सफलतापूर्वक सञ्चालनमा आइसकेका जानकारी दिँदै पछिल्लो चरणमा बस थप गरिएको बताउनुभयो । बसको चाबी हस्तान्तरण कार्यक्रममा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले ठूलो आकारका विद्युतीय बसहरूको प्रवद्र्धन आजको आवश्यकता भएको बताउँदै यी बसहरू व्यवसायी र यात्रुका लागि मात्र नभई देशकै यातायात प्रणाली सुधारका लागि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
कम्पनीले व्यावसायिक विद्युतीय सवारीसाधनलाई नेपालमा स्थापित गर्ने लक्ष्यसहित काम गरिरहेको र बिक्रीपछि सेवा प्रणालीलाई प्राथमिकतामा राखेकको जनाएको छ । महानगर यातायात प्रालिले हाल काठमाडौँ उपत्यका र बाहिर गरी १४० भन्दा बढी सवारीमार्फत सेवा दिइरहेको छ । कम्पनीले २८ सिटी बस र २४ माइक्रोबससहित ५२ विद्युतीय सवारी सञ्चालन गरिरहेको छ ।
भारतले रविलाई प्रधानमन्त्रीकै स्तरमा दियो सम्मान
लुम्बिनीमा एमालेका चार मन्त्रीको राजीनामा, मन्त्रिपरिषद् पुनर्गठनको तयारी
प्रधानन्यायाधीश शर्माले विधि मिचेर आफू अनुकूलको बनाए संवैधानिक इजलास
बाजुरामा एक युवकको हत्या
सीमासम्बन्धी अभिव्यक्तिबारे संसद्मा थप जवाफ नदिने बालेन
रवि फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाने
एसियाली छनोट : आज मलेसियाविरुद्ध भिड्दै नेपाल
प्रतिक्रिया