कोशी प्रदेश सरकारले आगामी नीतितग प्राथमिकतामा बहुवर्षीय आयोजना, समृद्धि ल्याउने दाबी (पूर्णपाठ
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीतिगत प्राथमिकता सार्वजनिक गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री विदुर कुमार लिङ्थेपले शनिबार कोशी प्रदेशसभामा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणको लक्ष्यलाई केन्द्रमा राखिएको छ ।
जनमुखी सेवा प्रवाह, दिगो भौतिक पूर्वाधार निर्माण, कृषि क्षेत्रको सबलीकरण, स्वास्थ्य, शिक्षा र सामाजिक न्यायसहितको समावेशी विकासलाई बजेटको प्राथमिकतामा राखिएको छ ।
प्रदेश सरकारले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन डिजिटलाइजेसनमा जोड दिने भएको छ । विकास आयोजनाहरूको कार्यान्वयनमा हुने ढिलासुस्ती अन्त्य गर्न र नतिजामा आधारित वित्तीय अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई कडाइका साथ लागू गरिने प्राथमिकतामा उल्लेख छ ।
आगामी बजेटले कृषि क्षेत्रलाई प्रदेशको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्वीकार गरेको छ । कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्य राखिएको छ । मन्त्री लिङ्थेपका अनुसार स्थानीय कच्चा पदार्थमा आधारित नवप्रवर्तनकारी उद्योगहरूको स्थापनामा निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।
पर्यटनतर्फ कोशी प्रदेशका सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्पदाहरूको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रमहरू ल्याइनेछ । मन्त्री लिङ्थेपले २०८३ साउनदेखि २०८५ असार मसान्तसम्मलाई कोशी भ्रमण वर्षका रूपमा मनाउने र यस अवधिमा बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न पर्यटकीय गन्तव्य र पदमार्गहरूको विकासमा बजेट केन्द्रित गर्ने पनि बताए ।
प्रदेशको सडक सञ्जाललाई व्यवस्थित बनाउन प्रादेशिक सडक गुरुयोजना अनुसार रणनीतिक सडक र व्यापारिक केन्द्र जोड्ने सडकहरूको निर्माणलाई तीव्रता दिइनेछ । मन्त्री लिङ्थेपले बहुवर्षीय आयोजनाहरूलाई समयमै सम्पन्न गर्न पर्याप्त बजेट विनियोजन गरिने बताए ।
यसका साथै खानेपानी आपूर्ति, सिँचाइ प्रणालीको सुधार र सुक्खाग्रस्त क्षेत्रमा वर्षाको पानी संकलन गर्ने जस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको छ । ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र भरपर्दो सिँचाइ सुविधा पुर्याउनु सरकारको दायित्व हो,’ उनले भने ।
स्वास्थ्य सेवालाई पहुँचयोग्य र विशेषज्ञसहितको बनाउन प्रादेशिक अस्पतालहरूको क्षमता विकास गरिने भएको छ । अस्पतालहरूमा प्रवाह हुने सेवालाई प्रविधिमैत्री बनाउँदै पालिका तहसम्म स्वास्थ्य सेवाको विस्तार गरिने प्राथमिकतामा उल्लेख छ ।
शिक्षातर्फ सामुदायिक क्याम्पस र प्राविधिक विद्यालयहरूको पूर्वाधार विकासमा लगानी बढाइनेछ । गुणस्तरीय शिक्षाका लागि प्रविधिको प्रयोग र दक्ष जनशक्ति उत्पादनमा विशेष जोड दिइने मन्त्री लिङ्थेपले बताए । मन्त्री लिङ्थेपले प्रदेशको आन्तरिक राजस्वको अवस्थाबारे समीक्षा गर्दै केही चुनौतीहरू समेत औंल्याए ।
विगतका वर्षको तुलनामा राजस्व संकलनमा सुधार हुँदै गए पनि २०८२ साल भदौ २३ र २४ गते भएको प्राकृतिक तथा अन्य घटनाका कारण भौतिक संरचनामा क्षति पुग्दा र सेवा प्रवाह अवरुद्ध हुँदा राजस्व प्राप्तिमा केही संकुचन आएको उनले बताए ।
यस्तै, संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड र समानीकरण अनुदान लक्ष्य अनुरूप प्राप्त नहुँदा प्रदेशको समग्र स्रोतमा दबाब परेको उनको भनाइ थियो । आगामी वर्ष राजस्वको दायरा विस्तार गर्ने र कर प्रणालीलाई प्रविधिमैत्री बनाउँदै आन्तरिक स्रोतलाई बलियो बनाउने रणनीति लिइने उनले बताए ।
बजेटका प्राथमिकतामा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र पिछडिएका समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने संकल्प गरिएको छ । सामाजिक न्याय सुनिश्चित गर्दै रोजगारीका अवसर सिर्जना गर्न युवाहरूलाई औद्योगिक प्रशिक्षण र सीपमूलक तालिम प्रदान गरिने मन्त्री लिङ्थेपले बताए ।
बिदेसिएका युवाको सीप र अनुभवलाई स्वदेशमै उपयोग गर्ने गरी उद्यमी प्रवर्द्धनको कार्यक्रम ल्याइने उनको भनाइ छ । कोशी प्रदेश विपद्को जोखिममा रहेको क्षेत्र भएकाले विपद् पूर्वतयारी र प्रतिकार्य योजनालाई प्रभावकारी बनाइने प्राथमिकतामा उल्लेख छ ।
चुरे क्षेत्रको संरक्षण, जलाधार क्षेत्रको व्यवस्थापन र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि रणनीतिक योजनाहरू तयार गरिनेछ ।
मन्त्री लिङ्थेपले जैविक विविधताको संरक्षणका लागि खुल्ला चिडियाखाना र जैविक विविधता पार्क स्थापना गर्ने योजना समेत प्रस्तुत गरे । प्रस्तुत सिद्धान्त र प्राथमिकताले कोशी प्रदेशको विकास र समृद्धिको जग बसाल्ने मन्त्री लिङ्थेपको दाबी छ ।
पूर्णपाठ :
बजेटमा एआईलाई प्राथमिकता सकारात्मक, तर कार्यान्वयनमा निजी क्षेत्रसँग स्पष्ट साझे…
प्रधानन्यायाधीशको बिदाइमा बारको 'ब्रेक' तोडियो, बाह्र जनापछि राउत भाग्यमानी
भारतले रविलाई प्रधानमन्त्रीकै स्तरमा दियो सम्मान
लुम्बिनीमा एमालेका चार मन्त्रीको राजीनामा, मन्त्रिपरिषद् पुनर्गठनको तयारी
प्रधानन्यायाधीश शर्माले विधि मिचेर आफू अनुकूलको बनाए संवैधानिक इजलास
बाजुरामा एक युवकको हत्या
सीमासम्बन्धी अभिव्यक्तिबारे संसद्मा थप जवाफ नदिने बालेन
प्रतिक्रिया