रास्वपाका सांसद ढकालको आयोगको पछिल्लो प्रतिवेदनप्रति कडा असन्तुष्टि युद्ध जारी छ, कथा अहिले नलेख्नुहोस्

फेसबुक स्टाटस

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरि ढकालले मानवअधिकार आयोगको पछिल्लो प्रतिवेदनप्रति कडा असन्तुष्टि जनाउँदै महाभारतको दृष्टान्त दिएर आक्रोश व्यक्त गरेका छन् । 

बुधबार साँझ फेसबुकमा उनले आयोगको प्रतिवेदनलाई ‘युद्धको कथा’सँग तुलना गरेका हुन् ।

बुधबार मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछानेलाई जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट भगाउन भूमिका खेलेको र सो आन्दोलनलाई हिंसात्मक बनाएको आरोप लगाइएको छ । आयोगले उनीहरूमाथि थप अनुसन्धान गर्न सिफारिस गरेपछि आक्रोशित बनेका सांसद ढकालले प्रत्यक्ष रूपमा प्रतिवेदनको नाम नलिए पनि अप्रत्यक्ष रूपमा त्यही विषयलाई लक्षित गरी कटाक्ष गरेका हुन् ।

ढकालले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘युद्ध हुँदाहुँदै लेखिएको होइन महाभारत, युद्ध सकिएको धेरैपछि लेखिएको हो । युद्ध चलिरहेको छ भने कथा लेख्ने हतार नगर्नुहोस् । युद्ध सकिएपछि ढुक्कसँग लेखौँला ।’

उनले युद्धको बिचमा सत्यलाई तोडमोड गरेर लेखिएका कुराहरू पानीको फोकाजस्तै अस्थायी हुने दाबी गरेका छन् । ‘युद्ध नसकिँदै कथा लेख्न खोज्नेहरूको कथा पानीको फोका जस्तै अस्थायी हुन्छ । युद्ध जारी छ, अझै केही समय चलिरहन्छ,’ उनले दाबी गरेका छन् । 

सांसद ढकालले महाभारतको प्रसंग जोड्दै अभिमन्युको बलिदानीपछि युद्ध थप भड्किएको स्मरण गराएका छन् । उनले सम्बन्धित निकाय र टिप्पणीकर्ताहरूलाई तटस्थ रहन सुझाव दिँदै लेखेका छन्, ‘बर्बरिकले देखे जस्तै वा सञ्जयले देखे जस्तै तटस्थ भावले युद्ध हेर्नुहोला ।’

आयोगको प्रतिवेदनले आफूहरूलाई दोषी करार गर्न खोजेको भन्दै उनले प्रतिवेदनको विश्वसनीयतामाथि नै प्रश्न उठाएका हुन् । यद्यपि उनले आफ्नो फेसबुक स्टाटसमा प्रत्यक्ष त्यस्तो कुनै शब्द प्रयोग भने गरेका छैनन् । यद्यपि, मानवअधिकार आयोगले भने कानुनबमोजिम नै अनुसन्धान र सिफारिस प्रक्रिया अघि बढाउन भनेको छ ।