हर्मुज जलमार्गमा इरानको नयाँ दाउ, पाँच सय किलोमिटर क्षेत्रलाई ‘सैन्य करिडोर’ घोषणा

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलमार्गलाई अब एक विशाल सैन्य र परिचालन क्षेत्रका रूपमा पुनः परिभाषित गरेको छ। इरानको नयाँ नौसैनिक रणनीतिको हिस्सा स्वरूप अब यो समुद्री मार्ग साँघुरो जलमार्गमा मात्र सीमित नरही करिब पाँच सय किलोमिटर लामो फराकिलो सैन्य करिडोर बनेको दाबी गरिएको छ।

आईआरजीसी नौसेनाको राजनीतिक विभागका उपप्रमुख मोहम्मद अकबरजादेहले तस्निम समाचार एजेन्सीसँग कुरा गर्दै सीमित क्षेत्रको पुरानो परिभाषा अब समाप्त भएको बताए। उनले पहिले हर्मुज र हेङ्गम जस्ता साना टापुहरू वरपर मात्र सीमित रहेको यस जलडमरूमध्यलाई अब जास्क र सिरिकदेखि केश्म टापु र ग्रेटर टम्बसम्म फैलिएको विशाल सैन्य क्षेत्रका रूपमा हेरिने जानकारी दिए। आईआरजीसीको रिपोर्ट अनुसार पहिले ५० किलोमिटर क्षेत्रमा मात्र सीमित मानिएको यो मार्गलाई अहिले पाँच सय किलोमिटर (करिब ३०० माइल) सम्म विस्तार गरिएको छ, जसलाई इरानले 'अर्धचन्द्राकार रणनीतिक संरचना' भनेको छ।

अकबरजादेहले इरानले आफ्नो समुद्री सीमा र हितको सुरक्षाका लागि कुनै पनि प्रकारको सम्झौता नगर्ने स्पष्ट पारे। उनले कडा प्रतिक्रिया दिँदै भने, “हाम्रो एक इन्च जमिन जोगाउन हामी रगत बगाउन तयार छौँ, तर यसलाई छोड्ने छैनौँ।” आईआरजीसीले अब हर्मुज जलमार्ग हुँदै जाने जहाजहरूका लागि नयाँ नियमहरू लागू हुने र इरानले तोकेको बाटो मात्र सुरक्षित मानिने चेतावनी समेत दिएको छ। नियम उल्लङ्घन गर्ने पानीजहाजलाई कडा कारबाही गरिने इरानको अडान छ।

मध्यपूर्वमा तनाव उच्च रहेका बेला इरानको यस्तो धारणा सार्वजनिक भएको हो। इरानले अमेरिका र इजरायलका नीतिहरूलाई गैरकानुनी सैन्य कारबाहीको संज्ञा दिँदै आएको छ। गत मार्चदेखि इरानले ‘शत्रु’ राष्ट्रका जहाजहरूको आवागमनमा प्रतिबन्ध लगाएको छ भने अर्कोतर्फ अमेरिकाले इरानी बन्दरगाहहरूमा प्रतिबन्धको घोषणा गरेको छ। अमेरिकाको यस कदमलाई इरानले ‘समुद्री डकैती’ को संज्ञा दिँदै विरोध जनाएको छ।