सरकारले बन्द गर्ने निर्णय गरेपछि सम्पर्कमा आयो फेसबुक

फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता चर्चित सोसल मिडिया प्लेटफर्मको माउ कम्पनी मेटा नेपाल सरकारको सम्पर्कमा आएको छ ।

आज मात्र सरकारले नेपालमा दर्ता नभएका सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएपछि सिंगापुरबाट मेटा कम्पनीका प्रतिनिधि सञ्चार मन्त्रालयको सम्पर्कमा आएका हुन् । उनले दर्ताका लागि के कस्ता प्रक्रिया छन् भनेर सोधीखोजी गरेपछि मन्त्रालयले आवश्यक पर्ने विवरण इमेलमार्फत पठाइसकेको प्रवक्ता गजेन्द्रकुमार ठाकुरले शिलापत्रलाई जानकारी दिए । 

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सिंगापुरमा रहेको मेटा कम्पनीका प्रतिनिधिले शुक्रवार अनौपचारिक रूपमा सम्पर्क गरेका थिए ।  उनले मन्त्री पृथ्वी सुब्बा  गुरुङका सल्लाहकार शालिग्राम पराजुलीलाई मेटा कम्पनीका अधिकारीहरूले सरकारको निर्णय बारे सोधेका थिए भने नेपालको विद्यमान कानुन अनुसार के के कागजपत्र चाहिन्छ भनेर जिज्ञाशा राखेका थिए ।

‘हामीले उनको इमेल ठेगानमा माग्यौँ । सो इमेलमा नेपाल सरकारले गर्न लागेको व्यवस्थाको बारेमा जनकारी दिइसक्यौँ,’ ठाकुरले शिलापत्रसँग भने ‘अब चाँडै दर्ता हुने कुरो बुझिएको छ ।’ 

उनका अनुसार नेपालमा दर्ता नभएका २६ सामाजिक सञ्चालन र ओटीटी प्लेटफर्म कम्पनीहरू दर्ता लगत्तै सञ्चालन गन्नुभन्ने निर्देशन मन्त्रालयबाट दूरसञ्चार प्राधिकरणलाइ दिइसकिएकाे छ ।