नेपालमा फेरि भित्रियो कोरोना, सात जनामा देखियो संक्रमण
काठमाडौँ, १४ जेठःनेपालमा पछिल्लो एकहप्तामा कम्तिमा पनि सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीन र भारतमा देखिएको कोरोना नै नेपालमा फैलियो हो या नयाँ भेरियन्ट हो भन्ने बारेमा अहिलेसम्म सरकारले केही बताएको छैन ।
स्वास्थ्य मन्त्रालयले आइतबार नेपालमा देखिएको नयाँ भेरियन्टका बारेमा छलफल गरेको थियो । सीमा नाका, हवाई नाकाहरुमा हेल्थ डेस्क राखेर चेकजाँच सुरु भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
‘हामीले नाकामा किटसहितको व्यवस्था गरेर चेकजाँच थाल्न निर्देशन दिइसकेका छौँ,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो । कोरोना देखिएकामध्ये सबैजसो काभ्रेका हुन् । धुलिखेलमा चेकजाँचको क्रममा कोरोना पुष्टि भएको हो । सातै जनालाई अहिले टेकुमा ल्याइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बूढाथोकीका अनुसार अहिले नेपालमा देखिएको कोरोना नयाँ भेरियन्ट हो भन्ने पुष्टि भइनसकेको बताए ।
‘काभ्रेमा देखिएपछि हामीले सबैलाई अहिले टेकुमा ल्याएका छौँ,’ उनले भने, ‘अहिलेसम्मको चेकजाँचका क्रममा नयाँ भेरियन्ट होइन भन्ने लागेको छ ।’ उनका अनुसार यसअघि पनि फाटफुट कोरोना पुष्टि भए पनि अहिले एकैठाउँमा सात जनालाई देखिँदा सतर्कता बढाइएको छ ।
‘हामीले सतर्कता अपनाएका छौँ,’ उनले भने, ‘यो हप्ता ६–७ जना संक्रमित देखिए । सबैजना धुलिखेलमा देखिएको हो । अहिले उनीहरुलाई टेकुमा ल्याएका छौँ । हामीले थप परीक्षणपछिमात्रै नयाँ भेरियन्ट हो वा होइन भन्ने बताउन सक्छौँ ।’
उनका अनुसार अहिले पनि थप चेकजाँच बढाइएको छ । स्वास्थ्य मन्त्री प्रदिप पौडेलको सचिवालयले दिएको जानकारीअनुसार आइतबार पनि मन्त्रीले यसबारेमा निर्देशन दिइसकेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीले पनि पछिल्लो २४ घण्टामा एक जनामा कोरोना पुष्टि भएको बताए । तर, यो नियमित प्रक्रिया भएको उनको भनाइ छ ।
‘डराइहाल्नुपर्ने स्थिति होइन, नियमित प्रक्रियाअन्तर्गत नै एक जनामा कोरोना देखिएको हो । अहिले छिमेकी राष्ट्र भारतमा कोरोना देखिएकाले नेपालमा पनि एक प्रकारको डर छ । तर, डराउनुपर्ने अवस्था छैन । नयाँ भेरियन्ट भनेर पुष्टि भइसकेको अवस्था होइन,’ उनले भने । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोष विशेषज्ञ डा. शेरबहादुर पुनले भारतमा देखिएको कोरोनाको भेरियन्ट संक्रामक रहेको तर डराइहाल्नुपर्ने स्थिति नरहेको बताए । ‘भारतमा म्युटेसन हुँदैहुँदै गएर फरक खालको प्रजाति देखिएको हो । नयाँ प्रजाति कस्तो हुन्छ भनेर सबैको चासो हुन्छ । तर, घातक चाहिँ देखिएको छैन । नेपालमा देखिहाले पनि डराउनुपर्दैन । सजगता चाहिँ अपनाउनैपर्छ,’ डा. पुनले भने ।
नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण
एकनाले भरुवा बन्दुकसहित दुई जना पक्राउ
पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा ...
सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज विश्व पक्षाघात दिवस मनाइँदै
एउटै समयमा सुत्ने र उठ्ने गर्नु मस्तिष्क र मुटुका लागि स्वस्थकर :अध्ययन
बैतडीमा मातृ र शिशु मृत्युलाई शून्यमा झार्ने अभियान : भौनेली स्वास्थ्यचौकीमा ‘…
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर, सचेत हुन विज्ञको सुझ…
प्रतिक्रिया