मन्त्रालय फुटाएर मन्त्रीको पजनी, प्रदेश १ मा यसरी गरिँदै छ भागबण्डा

काठमाडौँ । प्रदेश १ को मन्त्रिपरिषद आज बिस्तार हुने भएको छ । गठबन्धनमा रहेका दललाई भाग पुर्‍याउन ७ मन्त्रालयलाई फुटाएर १२ पुर्‍याएका मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद बिस्तार गर्न लागेका हुन् ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका तीनतीन तथा माओवादी केन्द्रका दुई मन्त्री थप्ने मुख्यमन्त्री राईको तयारी छ । तीनै दलले प्रस्तावित मन्त्रीको सूचीसमेत बुझाइसकेका छन् । एकीकृत समाजवादीबाट राजन राई, खिनु लिम्बु र उपेन्द्र घिमिरे मन्त्री बन्नेछन् ।

कांग्रेसका प्रतापप्रकाश हाङगाम, ओमप्रकाश सराबगी र शेखरचन्द्र थापाले अवसर पाउने भएका छन् । माओवादीले रामकुमार राई र झलकसिंह दर्लामीलाई नयाँ मन्त्रीका रुपमा पठाउँदै छ । एकै कार्यकालमा प्रदेश एकको सत्ता तीनपटक परिवर्तन भइसकेको छ । मन्त्रालय टुक्राएर भागबन्डा मिलाइएको भने यो पहिलोपटक हो ।

उता कर्णालीमा भने मूर्तिचोर प्रमाणित भइसकेका गैरसांसद व्यक्तिलाई समेत मन्त्री बनाइँदै छ । प्रदेश २ मा एक राज्यमन्त्री थपिएका छन् ।