कर्णाली मन्त्रिपरिषद् बैठकले उक्त योजना स्वीकृत, के–के समेटिएको छ योजनामा ?
कर्णाली प्रदेश योजना आयोगले तयार पारेको दोस्रो पञ्चवर्षीय योजना स्वीकृत भएको छ । शुक्रबार बसेको कर्णाली मन्त्रिपरिषद् बैठकले उक्त योजना स्वीकृत गरेको हो ।
यसअघि प्रदेश विकास परिषद् बैठकले योजनाको मस्यौदा पारित गरेको थियो । दोस्रो पञ्चवर्षीय योजना ०८१ साउन महिनादेखि लागु गर्नुपर्ने भए पनि सरकार फेरबदलसँगै आयोगका पदाधिकारी नियुक्त गर्न ढिलाइ हुँदा ५ महिनापछि मात्रै लागु हुने भएको हो ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै उक्त योजना लागु हुन्छ । उक्त योजना चालु आर्थिक वर्ष (०८१/०८२) देखि ०८५/०८६ सम्मका लागि हो । योजनामा पाँच वर्षभित्र कर्णाली सरकारले गर्नुपर्ने काम र त्यसका उद्देश्य समेटिएको छ ।योजनामा ५ वर्षभित्र अर्थात् आर्थिक वर्ष ०८५/०८६ सम्म कर्णालीको आर्थिक वृद्धिदर ९.९ प्रतिशत हुने अनुमान गरिएको छ । पाँच वर्षको अवधिमा ५२ खर्ब २ अर्ब ९२ करोड बृहत् आर्थिक क्षेत्रगत लगानीको स्रोत प्रक्षेपण गरिएको छ भने त्यसमा कृषि, उद्योग र सेवा क्षेत्र उल्लेख गरिएको छ । त्यसमा ५०.८ प्रतिशत सार्वजनिक लगानी, ४४.९ निजी लगानी र ४.४ प्रतिशत सहकारीको लगानी प्रक्षेपण गरिएको छ ।
योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले कर्णालीको आवश्यकता, विकासका नवीनतम ज्ञान, अनुभव र उपलब्ध स्रोत साधन, विकासका सम्भावना तथा अवसरका आधारमा दोस्रो पञ्चवर्षीय योजना तयार गरिएको बताए ।
योजनामा ‘सुशासन, सामाजिक न्याय र आम समृद्धि’ सोचलाई अघि सारिएको छ । उक्त योजना कार्यान्वयन गर्न सोच, लक्ष्य, उद्देश्यदेखि रणनीतिसमेत बनाइएको छ ।आयोगका अनुसार उत्पादनशील र रोजगारमूलक अर्थतन्त्र निर्माण गरी सुशासन र सामाजिक न्यायमार्फत समाजवाद उन्मुख समुन्नत कर्णाली निर्माण गर्ने लक्ष्य छ ।
यस्तै उत्पादन, रोजगारी र आय वृद्धि तथा गरिबी न्यूनीकरण गर्नु, सहज तथा सर्वसुलभ पहुँच र सघन आवद्धता कायम, सिर्जनशील, सम्मानित तथा न्यायपूर्ण समाज प्रवर्द्धन गर्नु र सुशासन प्रवर्द्धन तथा विकासको प्रतिफल आम जनतासामु पु¥याउने उद्देश्य लिइएको छ ।
गन्तव्यमा पुग्नका लागि कर्णाली सरकारले ‘गेम चेञ्जर’ आयोजनालाई प्राथमिकता दिनुपर्ने आयोगको तर्क छ । योगीका अनुसार कर्णालीको सम्भावनालाई आधार मानेर हरित अर्थतन्त्रमा आधारित उत्पादन तथा रोजगारी सिर्जना गर्नुपर्ने छ भने पूर्वाधार र अन्तरआबद्धता, जलस्रोत, स्वच्छ ऊर्जा र खानेपानी लगायतलाई ध्यान दिनुपर्ने छ ।
गेम चेञ्जर’ आयोजनामा जलविद्युत् उत्पादन, उत्तर–दक्षिण करिडोर (कर्णाली रेशम मार्ग लगायत), स्थानीय उत्पादनमा आधारित उद्योग स्थापना, पर्यटन विकास, अर्ग्यानिक तथा रैथाने कृषि उत्पादनमा सरकारले जोड दिनुपर्ने छ ।
यस्तै गुणस्तरीय भौतिक पूर्वाधार, उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन, नव प्रवर्तन र डिजिटल कर्णालीजस्ता विषयमा प्रमुखताका साथ लगानी गर्नुपर्ने आयोगले उक्त योजनामा उल्लेख गरेको छ ।
आयोगका अनुसार ठुला तथा रणनीतिक आयोजनामा लगानीका स्रोत जुटाउनुपर्ने छ । कार्यान्वयनका लागि प्रदेश सरकारको लगानी, प्रदेश तथा स्थानीय तहसँगको साझेदारी, प्रदेश र संघीय सरकारबिचको साझेदारीमा काम गर्न सकिने आयोगले जनाएको छ ।
आयोगका अनुसार यसअघि पञ्चवर्षीय योजनामा रहेर सरकारले कार्यक्रम तर्जुमा गरेको देखिँदैन । विशेषगरी ठुला तथा रणनीतिक आयोजनामा ध्यान दिनुपर्ने आयोगले औँल्याएको छ ।
दलित सशक्तीकरण विधेयक सर्वसम्मतले पारित
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्री अनुरोध
सत्रौँ गणतन्त्र दिवसका अवसरमा मुख्यमन्त्री कँडेलको शुभकामना
विषादीमुक्त प्रदेश निर्माणको अभियानमा कर्णाली सरकार
भूकम्प प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्दै कर्णाली सरकार
प्रतिक्रिया