सेवा प्रभावकारी बनाउन बुटवल उपमहानगरपालिकालाई सुझाव

काठमाडौँ, ३१ जेठ : बुटवल उपमहानगरपालिकाले प्रदान गर्ने सेवा प्रवाह थप प्रभावकारी बनाउन र नगरको विकास निर्माणमा जोड दिन स्थानीयवासीले सुझाव दिएका छन् । वर्षायाममा सम्भावित विपत्को तयारी गर्न, ज्योतिनगर र श्रवणडाँडाको पहिरो, नदीजन्य पदार्थको उत्खनन्लाई वर्षायामअघि व्यवस्थापन गर्न उनीहरुले सुझाव दिएका हुन् । 

उपमहानगरपालिकाले आज आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीले बुटवलमा अवस्थित सङ्घ र प्रदेश कार्यालयलगायतले दिने सेवा प्रवाहका विषयमा जिज्ञासा र सुझाव राखेका थिए ।

नगरबासीको जिज्ञासाको जवाफ दिँदै नगर प्रमुख खेलराज पाण्डेयले सार्वजनिक सुनुवाइबाट प्राप्त प्रश्न र सुझावलाई ग्रहण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नागरिकबाट प्राप्त अभिमतलाई सम्मान गर्दै अघि बढ्ने बताउनुभयो । 

प्रमुख पाण्डेयले बुटवललाई आर्थिक केन्द्रका रुपमा मात्रै नभई मानव संशाधनको दृष्टिबाट पनि उच्च क्षमताको जनशक्ति उत्पादन र खपत गर्ने सहरका रुपमा स्थापित गर्ने दृढता व्यक्त गर्नुभयो । उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध सहर बनाउन सबैको साथ जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले नागरिक सचेत भए मात्रै विकासको अर्थ रहने धारणा राख्नुभयो । सार्वजनिक सरोकार र सार्वजनिक सम्पत्ति संरक्षणमा चासो दिन उहाँले आग्रह गर्नुभयो । 

कार्यक्रममा उठेका विषयहरुमा बोल्दै बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले सहभागीका प्रश्न र सुझावहरुलाई प्राथमिकता दिएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सेवा प्रवाहलाई चुस्त र दुरुस्त राख्न महत्वपूर्ण सुझावहरु प्राप्त भएकाले  उहाँले प्रशासनिक सुधार गर्ने गरी काम गर्ने आश्वासन दिनुभयो । कार्यक्रममा राजनीतिक दल, सरकारी कार्यालय र सामाजिक संस्थाका प्रतिनिधिहरुले आआफ्ना धारणा राखेका थिए ।