वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन

वीरगञ्ज आसपासका क्षेत्रमा चर्काे गर्मी बढेसँगै महानगरभित्रका शिक्षण संस्थाले बिहानी कक्षा सञ्चालन गर्दै आइरहेका छन् । गर्मीले दिनको समयमा पठनपाठनमा समस्या भएसँगै वीरगञ्ज महानगरभित्रका विद्यालयले बिहानको समयमा अध्ययन अध्यापन गराउन पाउँदा विद्यार्थी तथा शिक्षक दुवैले राहतको महसुस गरेका छन् ।

    बालविकासदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई बिहानको समयमा विद्यालयमा आउने बानी पार्न केही समस्या भए पनि अन्य तहका विद्यार्थीहरुको भने उत्साहजनक उपस्थिति हुँदै आइरहेको सामुदायिक विद्यालयका प्रधानाध्यापकले  जनाएका छन् ।

    नेपाल राष्ट्रिय आधारभूत विद्यालय, बलिरामपुरका प्रधानाध्यापक (प्रअ) चन्देश चौहानले दिउँसोको समयमा चर्काे गर्मी भएसँगै बिहानी कक्षा सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।  “उखरमाउलो गर्मीले दिनको समयमा विद्यार्थीलाई पठनपाठन गराउन निकै समस्या भएको थियो”, उहाँले भन्नुभयो, “बिहानको समयमा कक्षा सुरु गरेसँगै अहिले पठनपाठन कार्य अघि बढ्दै आइरहेको छ ।” प्रअ चौहानले गर्मीयामका कारण सानो कक्षामा अध्ययन गरिरहेका छात्रछात्रालाई सबेरै विद्यालय आउन केही दिन समस्या भए पनि विस्तारै सुधार हँुदै आइरहेको बताउनुभयो । नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा तीन सय ५० भन्दा धेरै विद्यार्थी अध्ययन गर्छन् ।

    “केही समयअघिसम्म तराई–मधेसको मौसम ससाना बालबालिकाको लागि सुहाउँदो खालको थिएन । चर्काे गर्मीले पठनपाठनमा पनि धेरै अप्ठ्यारो परिस्थिति सिर्जना गरेको थियो”, उहाँले भन्नुभयो, मङ्गलबार र बुधबार दिउँसोको समयमा वीरगञ्ज आसपासका क्षेत्रमा वर्षात् भएर तापक्रम केही घटेको छ । तर यो अवस्था सधैँ रहँदैन । त्यसैले पनि बिहानीको सत्रमा अध्ययन गराउँदा सहज भइरहेको छ ।” 
    
    विद्यालयले अघिल्ला वर्षमा पनि बिहानी सत्रमा अध्ययन अध्यापन गर्ने गरेको थियो । नेपाल रेल्वे मावि वीरगञ्जका प्रधानाध्यापक प्रभुप्रसाद रौनियार बिहानी समयमा सञ्चालित कक्षाले विद्यार्थीलाई अध्ययन गर्न सहज भएको बताउनुहुन्छ । “हाम्रो विद्यालयमा कक्षा १२ को परीक्षा केन्द्र भएकाले पनि नियमितरुपमा बिहानी कक्षा सञ्चालन गर्न सकिरहेका छैनौँ”, उहाँले भन्नुभयो, “कक्षा १२ को परीक्षा आजदेखि सकियो । अब भोलिदेखि नियमितरुपमा बिहानको कक्षा सञ्चालन गर्नेछौँ ।” 

    प्रअ रौनियारले चर्को गर्मी र हावाहुरीका कारणले पनि बिहानको समयमा कक्षा सञ्चालन गर्दा सहज भएको बताउनुभयो । “चर्काे गर्मीकै बिहान १० देखि ४ बजेसम्म कक्षा सञ्चालन गर्न निकै समस्या हुन्थ्यो । यो क्षेत्रमा कम्तीमा ४० डिग्री तापक्रम पुगिसकेको छ”, उहाँले भन्नुभयो, “विद्यालयले बिहान ६ बजेदेखि ११ः३० बजेसम्म बिहानी कक्षा सञ्चालन गर्दै आइरहेको छ । जसमा विद्यार्थीको उपस्थिति पनि राम्रो छ ।”

    वीरगञ्ज महानगरपालिका नगरशिक्षा समितिको २०८१ वैशाख १७ गतेको निर्णयअनुसार प्रतिकूल मौसम (अत्यधिक गर्मी) का कारणले दिउँसोको समयमा पठनपाठन कार्य असहज भएको भन्दै बिहान ६ बजेदेखि गर्ने निर्णय गरेको थियो । सो निर्णय गत वैशाख २० गतेदेखि कार्यान्वयनमा आएको छ । 

    महानगरले बिहानका समयमा शिक्षण सिकाइको समयलाई पनि कमी नहुने गरी कक्षा चलाउन अनुरोध गर्दै आएको छ । महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय छन् । सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत र ५५ वटा प्राथमिक विद्यालय छन् । एउटा पूर्वप्रथामिक विद्यालय पनि छ । गत शैक्षिकसत्रमा यी विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म एक लाखभन्दा धेरै विद्यार्थी भर्ना भएका थिए । गत शैक्षिकसत्रमा ४६ हजार विद्यार्थी सामुदायिकतर्फ र ५४ हजार विद्यार्थी संस्थागत विद्यालयमा भर्ना भएका थिए । यो वर्ष गत आवभन्दा १० प्रतिशत बढी विद्यार्थी भर्ना हुने अनुमान गरिएको छ ।