उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

आइतबार हावाहुरीसँग परेको चट्याङ लाग्दा रौतामाई गाउँपालिका-७ का ५३ वर्षीय चन्द्रिका तामाङ परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

उदयपुरका प्रहरी नायव उपरीक्षक राजन चापागाईंका अनुसार चट्याङ लाग्दा परियारको घटनास्थलमै मृत्यु भएको हो। 

हावाहुरीले उदयपुरका विभिन्न स्थानमा रुख ढलेका छन् भने बिजुलीका पोलहरु भाँचिएका छन्। 

जिल्लाका विभिन्न स्थानमा ६८ वटा बिजुलीका खम्बा भाँचिएका विद्युत् प्राधिकरणले जनाएको छ। विद्युतका खम्बा भाँचिएपछि बेलका, कटारी, त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ।

बिजुलीका खम्बा भाँचिँदा १ करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।