भारतीय युवालाई रुस–युक्रेन युद्धमा धकेलेको आरोपमा चार जना पक्राउ

सीबीआईले भारतीय युवालाई राम्रो जागिरको प्रलोभनमा रुसी सेनामा भर्ती गर्ने मानव बेचबिखन गिरोहमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

सीबीआईले मे ७ मा केरलाका अरुण र येसुदास, कन्याकुमारीका निजिल जोबी बेन्सम र मुम्बईका एन्टोनी मिशेललाई पक्राउ गरी न्यायिक हिरासतमा पठाएको बताएको छ।

बयानका अनुसार यी व्यक्तिहरू मानव बेचबिखन गर्ने गिरोहसँग आवद्ध रहेको आरोप छ। ती व्यक्तिले भारतीय युवालाई राम्रो तलबको प्रलोभनमा रुस पठाउने र त्यहाँ सेनाको तालिम दिएर युद्धक्षेत्रमा अग्रपंक्तिमा तैनाथ गर्ने गरेको एजेन्सीको आरोप छ ।

एजेन्सीका अनुसार यी व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत भारतीय युवालाई फसाउने गरेका थिए । मानव बेचबिखनमा संलग्न यस गिरोहका एजेन्टहरू धेरै राज्यमा फैलिएको सीबीआईले जनाएको छ । 

एजेन्सीका अनुसार आरोपी निजली जोबी बेन्सन रुसमा अनुवादकको काम गर्थे र रुसमा बसेर भारतीय युवालाई सेनामा भर्ना गर्ने गर्थे ।