बारामा ८ महिनापछि वर्षा

प्रचण्ड गर्मी र लामो खडेरीका बिच बारामा ८ महिनापछि मंगलबार वर्षा भएको छ ।

 सिमरा विमानस्थल जल तथा मौसम शाखाको तथ्याकं अनुसार सिमरा र आसपासको क्षेत्रमा १८ दशमलव ४ मिलिमिटर वर्षा भएको  छ । वाग्मती प्रदेशमा भएको वर्षाको प्रभावले बारा र पर्साको अधिकांश भागमा वर्षा भएको जल तथा मौसम शाखाका सहायक मौसमविद् लक्ष्मण कँडेलले जनाएका छन् । दिउँसो करिब ३ः३० बजेदेखि सुरु भएको वर्षा १ देखि डेढ घण्टासम्म चलेको थियो । 

सिमरा विमानस्थल मौसम शाखाले आज राती पनि हावाहुरी सहित वर्षा हुनसक्ने जनाएको छ । लामो समयपछि भएको वर्षाले खेती किसान गर्ने कृषकलाई मात्रै होइन वन जङ्गलमा लागेको डढेलो नियन्त्रण र वन्यजन्तुहरूका लागि समेत ठुलो राहत मिलेको डिभिजन वन कार्यालयले जनाएको छ । 

‘वर्षाले ठुलो राहत मिलेको छ, खेतबारीमा मात्रै होइन जङ्गलमा लागेको डढेलो नियन्त्रण गर्न र वन्यजन्तुहरू पिउने पानीको लागि वासस्थान छोडेर भौतारिरहेका थिए अव उनीहरू पनि आफ्नो वासस्थान क्षेत्रमा फर्कन्छन्’ डिभिजन वन अधिकृत सिंहले भने ‘यो वर्षाले जमिन शीतल त भयो, डढेलोमा परेका बोट बिरुवाहरूलाई समेत ठुलो राहत मिलेको छ, वन्यजन्तुहरू पनि पानीको खोजीमा भौँतारिएर बस्तीतिर पस्दा मानव–वन्यजन्तु द्वन्द्व बढेको थियो त्यो पनि अव कम हुन्छ ’

यसअघि २०२३ अक्टोबर ४ तारिकमा करिब २३ मिलिमिटर पानी परेको थियो । बारामा यस वर्ष सबैभन्दा धेरै तापक्रम एक साता अघि ४१ दशमलव ५ डिग्री पुगेको थियो । बढ्दै गएको गर्मी र तातो हावामा कारण दैनिक ज्यालादारी गरेर खाने सर्वसाधारणहरूले ठुलो समस्या झेल्दै आएका थिए ।