महेन्द्रनगर विकास समितिको जग्गा जफत हुने

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले विक्रि वितरण तथा स्वामित्व हस्तान्तरण भएको विषयमा विशेष अदालतले सोमबार फैसला गरेको छ । तत्कालीन अध्यक्षहरुका साथै नायव सुब्बालाई विशेषले दोषी ठहर गर्दै सजाय सुनाएको छ ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले गरेको फैसलामा पदाधिकारीहरुलाई थप सजाय समेत गरिएको विशेषले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ वैशाख २०७९ मा तीन वटा र सोहि वर्ष २ कात्तिकमा एउटा मुद्दा दायर गरेको थियो । सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको थियो । 

विशेषले यी चार वटै मुद्दामाथि फैसला गर्दै महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्ष कान्तुराम पनेरु, समितिका सदस्य सचिव चन्द्रप्रसाद चौधरी र समितिमा कार्यरत नायव सुब्बा पुष्पराज भट्ट दोषी ठहर भएका छन् । उनीहरु चारै जनालाई जनही एक वर्ष ६ महिना कैद हुने भएको छ भने पनेरुको हकमा थप ६ महिना कैदको फैसला भएको विशेषका अधिकृत सागर भण्डारीले जानकारी दिए । दोषी ठहर भएका चारै जना प्रतिवादीलाई २९ लाख ७४ हजार रुपैयाँको दामासाहीले हुन आउने रकम जरिवानासमेत हुने फैसला भएको छ । अख्तियारले दाबी गरेकै बिगो रकम विशेषले पनि निर्धारण गरेको हो । 

नगर विकास समितिका नाममा रहेको जग्गा समितिका कर्मचारीहरुलाई बाँडिएको भेटिएको थियो । समितिको स्वामित्वमा रहेको जग्गा समितिमा कार्यरत कर्मचारीहरुलाई सहानुभूतिपूर्वक प्राथमिकता दिने भनी ३० कात्तिक २०६४ मा निर्णय भएको थियो । उक्त निर्णयको अपव्याख्या गरी सोहि वर्ष ६ पुसमा समितिका तत्कालीन अध्यक्ष पनेरुको एकल तोक आदेशमा समितिका कर्मचारीहरुलाई गैरकानूनी रुपमा हक हस्तान्तरण गरिएको थियो । जसपछि अख्तियारमा उजुरी परेको हो । अनुसन्धानपछि समितिका अध्यक्षसमेतका पदाधिकारी, समितिमा कार्यरत कर्मचारी, कञ्चनपुर मालपोतका कर्मचारीसमेतलाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । 

सोहि प्रकरणको अर्को मुद्दामा दोषी ठहर भएका प्रतिवादीहरुलाई पनि एक वर्ष ६ महिना कैद भएको छ । दोषी ठहर हुनेमा समितिका तत्कालीन अध्यक्ष पल्टु राना, समितिमै कार्यरत नासु पुष्पराज भट्ट, इन्जिनियर मोहनदेव भट्ट र अमिन तुलादत्त जोशी छन् । जसमध्ये रानालाई थप ६ महिना कैद हुने फैसलामा छ । चारै प्रतिवादीमाथि एक करोड ९३ लाख रुपैयाँभन्दा बढी बिगो निर्धारण भएको छ । यसको दामासाहीले हुन आउने रकम उनीहरुले तिर्नुपर्ने विशेषले जनाएको छ । उनीहरुको नाममा कायम जग्गा जफत हुने फैसला भएको छ । 

सोहि समितिमा जग्गा वितरणमा भएको भ्रष्टाचारबारेको अर्को मुद्दामा नगर विकास समिति अध्यक्ष गोपाल रसाइली दोषी ठहर भएका छन् । समितिमै अध्यक्ष रहिसकेका पल्टु राना, नासु पुष्पराज भट्ट र अमिन तुलादत्त जोशीमाथि पनि कसूर कायम भएको छ । उनीहरुलाई एक वर्ष ६ महिना कैद सजाय सुनाइएको छ । अध्यक्षहरु रसाइली र रानाको हकमा थप ६ महिना कैद सजाय सुनाइएको छ । 

रसाइलीलाई झन्डै ७४ लाख रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको छ । यसैगरी रानाले २४ लाख ३६ हजार जरिवाना तिर्नुपर्ने भएको छ भने भट्टलाई ९८ लाख ३६ हजार रुपैयाँ जरिवाना भएको छ । दोषी ठहर भएका जोशीको हकमा पनि भट्टबराबर नै जरिवाना तोकिएको छ । 

यी मुद्दाहरुका अन्य प्रतिवादीहरुले भने सफाइ पाएका छन् । नगर विकास समितिको स्वामित्वको जग्गा व्यक्तिलाई हक हस्तान्तरण गर्दा नगर विकास ऐन र नगर विका निर्देशिकाका साथै बोर्ड बैठकको निर्णयबमोजिम उपलब्ध गराउनुपर्ने थियो । तर अध्यक्षहरुको एकल तोक आदेशअनुसार जग्गा वितरण भएको पाइएको थियो । यसै विषयमा दायर अर्को मुद्दाको भने लिखित फैसला आउन बाँकी रहेको विशेषले जनाएको छ ।