होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा दुईको मृत्यु , १८ जना पक्राउ

काठमाडौं । ललितपुरको धोलाहिटीमा होली खेल्ने क्रममा दुई ग्याङ फाइट हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार राति धोलाहिटीमा दुई समूहबीच झडप हुँदा सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा सुनसरी घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र ३० वर्षीय पुजन राई रहेका छन् । पूजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ ।

ग्याङ फाइटपछि दुई जनाको मृत्यु भइसकेपछि मात्र खबर पाएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ ।

घटनास्थलबाट धारिलो हतियार समेत बरामद भएको प्रवक्ता सुवेदीले बताए । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।