रुसी कन्सर्ट हलमा आक्रमण अपडेट: मृतकको संख्या १३३ पुग्यो

काठमाडाैँ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार मस्को कन्सर्ट हलमा कम्तीमा एक सय ३३ जनाको ज्यान जाने गरी भएको ‘बर्बर आतङ्कवादी आक्रमण’ मा संलग्नलाई सजाय दिने वाचा गरेका छन् ।

उक्त आक्रमणका सम्बन्धमा रुसले युक्रेन भाग्न प्रयास गरिरहेका चार बन्दुकधारीलाई पक्राउ गरेको बताएको छ । किएभले कुनै पनि सम्बन्धलाई दृढतापूर्वक अस्वीकार गरको छ र पुटिनले आक्रमणबारे आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा इस्लामिक स्टेटले लिएको जिम्मेवारीको दाबीको सन्दर्भलाई जोडेनन् ।

शुक्रबार साँझ मस्कोको उत्तरी उपनगर क्रास्नोगोर्स्कमा रहेको क्रोकस सिटी हलमा छद्मवेशी बन्दुकधारीले आक्रमण गरी भवनमा आगो लगाएका थिए । आक्रमणमा कम्तीमा एक सय ३३ जनाको मृत्यु भएको छ ।

जिहादी समूहले आक्रमणको दाबी गर्दै शनिबार एक टेलिग्राम च्यानलमा लेखेको छ, “‘इस्लामसँग लड्ने मुलुकहरू’ सँग ‘भयानक युद्ध’ को हिस्साका रूपमा ‘मसिनगन, एउटा पेस्तोल, चक्कु र फायरबमले सुसज्जित चार आइएस लडाकूद्वारा गरिएको थियो।”

यो करिब दुई दशकमा रुसमाथि सबैभन्दा घातक आक्रमण हो र इस्लामिक स्टेटले दाबी गरेको युरोपमा सबैभन्दा घातक हमला हो । रुसी अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्ने अनुमान गर्दै एक सयभन्दा धेरै घाइते अस्पतालमा रहेको बताएका छन् ।

राष्ट्रपति पुटिनले शनिबार टेलिभिजनबाट राष्ट्रका नाममा एक सम्बोधनमा भने, “आतङ्कवादी, हत्यारा, गैर–मानवहरूको दुर्भाग्यशाली भाग्य मात्र हुन्छ : प्रतिशोध र विस्मृति ।”

“सबै चार प्रत्यक्ष अपराधी… गोली हानी मानिसहरूको हत्या गर्ने सबैलाई फेला पारिएको छ र उनीहरूलाई पक्राउ गरिएको छ”, आक्रमणलाई ‘बर्बर आतङ्कवादी काम’ उल्लेख गर्दै उनले भने, “उनीहरू भाग्ने प्रयासमा युक्रेनतर्फ गइरहेका थिए, प्रारम्भिक आँकडाअनुसार राज्यको सीमा पार गर्न उनीहरूका लागि युक्रेनतिरबाट एउटा झ्याल तयार गरिएको थियो ।”

पुटिनले हमलाकारीको तुलना ‘नाजी’ सँग गर्दै आक्रमण ‘अत्याचार, रुस र हाम्रा मानिसविरुद्धको हमला’ थियो भने । उनले आइतबार राष्ट्रिय शोक मनाउने बताए ।

एफएसबी सुरक्षा सेवाले शनिबार आक्रमणका सिलसिलामा ११ जनालाई पक्राउ गरेको बताएको छ । “सबै अपराधी, आयोजक र यो अपराधको आदेश दिनेलाई उचित र अनिवार्यरूपमा सजाय दिइने छ”, पुटिनले भने।एजेन्सी