झापा गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

साविक विजेता नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब छैटौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा आर्मीले मच्छिन्द्र फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । 

झापाको विर्तामोडस्थित डोमालाल रङ्गशालामा आज भएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठ र वसन्त जिम्बाले गोल गरेका थिए । श्रेष्ठले खेलको ६१औँ मिनेटमा तथा जिम्बाले ८०औँ मिनेटमा  गोल गरेका थिए । पेनाल्टी एरियामा पाएको बललाई जिम्बाले तीन विपक्षी खेलाडीलाई छक्याउँदै गोल गरेका थिए । आर्मी झापा गोल्ड कपको चारपटकको विजेता टोली हो । 

प्रतियोगितामा पहिलोपटक सहभागी भएको मच्छिन्द्र क्वाटरफाइनलबाटै बाहिरिएको छ । आजको खेलमा म्यान अफ दी म्याच आर्मीका बसन्त जिम्बा भए । उनले रु ११ हजार पुरस्कार प्राप्त गरेका छन् । 

बिहीबार आयोजक झापा–११ तथा एन्फा मकवानपुरबीच क्वाटरफाइनलको खेल हुनेछ । यही फागुन २८ गतेसम्म चल्ने झापा गोल्डकपमा १० टोली सहभागी छन् ।