पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल

बझाङ्ग, बाजुरा र अछामलगायत सुदूरपश्चिमका केही पहाडी जिल्लाका खेलकुद विकास समितिका कार्यालय भाडाकै भवनबाटै सञ्चालन भइरहेका छन् । यहाँका अधिकांश स्थानमा खेलकुदका लागि पर्याप्त सुविधा छैन । कतिपय स्थानमा त आधारभूत सुविधा पनि उपलब्ध हुन नसकेको अवस्था छ ।

यद्यपि खेलकुदमा आवश्यक लगानी र भौतिक पूर्वाधार अभावका बीच पनि यहाँका खेलाडीले आफूहरुलाई राष्ट्रियस्तरमा अब्बल सावित गरिरहेका छन् । उनीहरुले खेलमार्फत सुदूरपश्चिम प्रदेशको नाम उँचो बनाएका छन् । पालिका हुदै जिल्ला र प्रदेशबाट छनौट भएका उनीहरुले १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा सुदूरपश्चिमलाई प्रथम बनाए । 

पर्याप्त खेल संचरना र प्रशिक्षक नहुँदा पनि यहाँका खेलाडीहरुको गरेको उच्च प्रर्दशनबाट सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले खुसी व्यक्त गर्नुभयो । १३औँ राष्ट्रपति रनिङ शिल्डमा सात स्वर्णमै सीमित सुदूरपश्चिम यसपटक भने राष्ट्रपति रनिङ शिल्डमा १९ स्वर्ण, १२ रजत र १८ कास्य गरी ४९ पदकसहित शीर्ष स्थानमा रहेको भन्दै खेलाडीको प्रशंसा गर्नुभयो ।

प्रदेशमा ठूला खेल संचरनाका नाममा कञ्चनपुरको महेन्द्रनगरमा बहुउद्देश्यीय कर्वडहल, कैलालीको टीकापुरमा स्पोर्टस एकेडेमी र डडेल्धुरामा सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा मिनी कवर्डहल बन्दैछन् । त्यसबाहेक पहाडी जिल्लामा खेलकुदको विकासमा आवश्यक लगानी हुन नसकेको जानकारहरु बताउँछन् ।

“सुदूरपश्चिम खेलकुदको हव भएको कुरा अहिलेको नतिजाबाट पनि प्रष्ट भएको छ”, सदस्यसचिव सिंहले भन्नुभयो, “केही खेलमा प्रशिक्षक उत्पादन र खेलकुदको समग्र विकासमा सरकारले लगानी बढाउने हो भने सुदूरपश्चिम अन्य प्रदेशको तुलनामा अझै अब्बल हुनेछ ।”

हाँले महेन्द्रनगर र टीकापुरमा  प्रदेश सरकारको रु १४÷१४ करोडको लगानीमा दुई ठूला खेलकुद संरचना बनेपछि खेलकुदको माहोल थप सशक्त हुनेमा विश्वास व्यक्त गर्नुभयो । “एथ्लेटिक्स, कवड्डी, उसु, तेक्वान्दोलगायतका खेलमा हाम्रो राम्रो प्रर्दशन रह्यो”, उहाँले भन्नुभयो । उहाँले प्रतियोगिता अघि प्रदेशभरीका सबै खेलाडीलाई एक महिना बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइएको बताउनुभयो ।
उहाँका अनुसार सुदूरपश्चिमबाट ९८ जना खेलाडीका साथै प्रशिक्षक र व्यवस्थापक गरी एक सय १५ जना रनिङ शिल्डमा सहभागी भएका थिए । उहाँले लगातार रुपमा भइरहेका खेलकुद गतिविधिका कारण खेलाडीको प्रदर्शन सुधारिएको र सकारात्मक नतिजा आइरहेको बताउनुभयो ।

“सुदूरपश्चिममा धनगढी र महेन्द्रनगरमा रङ्गशालासहित खेल संरचना व्यवस्थापन गर्न सके अझ बढी फड्को मार्न सकिन्छ”, उहाँले भन्नुभयो, “अझै १०÷१५ जना प्रदेशका खेल प्रशिक्षक थप आवश्यक छ ।”

उहाँले यहाँका पहाडी जिल्लामा खेलकुद समिति नै भाडामा रहेको अवस्थामा प्रशिक्षकलगायत अन्य व्यवस्थापन पनि गर्न राज्यको ध्यान नपुगेको बताउनुभयो । यति हुँदाहुँदै पनि राम्रो खेलाडी उत्पादन हुनु राम्रो भएको उहाँको बुझाइ छ ।

बक्सिङ्ग ओलम्पियन डम्बरदत्त भट्टले राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिमले ल्याएको नतिजाबाट प्रदेश खेलकुदमा अब्बल रहेको प्रष्ट भएको बताउनुभयो । “वीरेन्द्र शिल्डदेखि राष्ट्रपति शिल्ड पुग्दासम्म सुदूरपश्चिम प्रदेश राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा अगाडि देखिएको छ”, भट्टले भन्नुभयो, “खेलाडीहरु सेवा सुविधाको अभाव र भविष्यको सुनिश्चितताको अन्यौलताका बीच उत्कृष्ट प्रर्दशन गरेका छन् । उनीहरुलाई जोगाउनका लागि सरकारको ध्यान दिनुपर्छ ।”

उहाँले पनि खेलाडीहरुले एकपछि अर्को प्रतियोगितामा ल्याइरहेको सकारात्मक नतिजा सुरक्षित राख्न प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “सुदूरपश्चिमको खेलकुद जगतका लागि अहिलेको नतिजा ऐतिहासिक हो”, उहाँले भन्नुभयो, “अझै पनि नयाँ खेलाडीहरुको तन र मन खेलप्रति छ भन्ने पनि यसबाट देखिएको छ ।”

केही समयअघि बाग्मती प्रदेश खेलकुद विकास समितिले आयोजना गरेको प्रथम अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा पनि सुदूरपश्चिमले उत्कृष्ट प्रर्दशन गरेको थियो । सो अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले २१ स्वर्ण, २९ रजत र २१ कास्यसहित दोस्रो स्थान ओगटेको थियो ।