तीनवटै तहका सरकारबीच समन्वय हुदैँ छ: मुख्यमन्त्री जम्कट्टेल

 बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तीनवटै तहका सरकारबीच समन्वय भइरहेको बताउनु भएको छ । 

हेटौंडामा आज आयोजित  तहगत अधिकारको कार्यविस्तृतिकरणसम्बन्धी गोष्ठीमा उहाँले तहगत अधिकार हस्तान्तरण बाँकी रहे पनि विकास–निर्माणका काममा तीनवटै तहका सरकारबीच समन्वय भइरहेको बताउनुभयो ।

संविधान कार्यान्वयनमा सङ्घीय सरकार प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्रीले आफूहरू पनि त्यस दिशामा क्रियाशील उल्लेख गर्नुभयो । सङ्घीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न तहगत अधिकारको बाँडफाँटमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । सबैको सुझावका आधारमा अधिकारको बाँडफाँट हुनेमा आफू विश्वस्त रहेको  उहाँले बताउनुभयो । 

गोष्ठीमा गाउँपालिका महासङ्घका अध्यक्ष लक्ष्मी पाण्डे, नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना,कार्यकारी निर्देशक कलानिधि देवकोटाले सङ्घीय शासन व्यवस्थाका विविध पक्षबारे मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 शुक्रबार सम्पन्न हुने गोष्ठीमा नेपाल नगपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारी, सातवटै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव र मुख्य न्यायाधिवक्ता, जनप्रतिनिधि र विज्ञहरू सहभागी छन् ।